अवकाशप्राप्त ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी तानिए



काठमाडाैं : अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो ।  विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।

एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी

नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो । 

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ ।

पूर्वएआइजीहरू मधु पुडासैनीबाट दुई, पंकज श्रेष्ठबाट एक, कमलसिंह बमबाट दुई, अमरबहादुर शाहबाट एक, हेमन्तबहादुर पालबाट तीन, रणबहादुर चन्दबाट तीन, बमबहादुर भण्डारीबाट दुई, दीपक थाङदेनबाट दुई र विजयकुमार भट्टबाट दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । 

एआइजीले अवकाशपछि पिएसओ सुविधा पाउने कार्यविधिमा उल्लेख छैन । तर, विशिष्ट श्रेणीको अधिकृत भएकाले एकजनासम्म सहयोगी प्रहरी प्रधान कार्यालयले खटाउँदै आएको छ । केहीले केही दिनका लागि भनेर अवकाशपछि लिएर जाने र फिर्ता नै नगर्ने चलन रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ । 

पाँच पूर्वआइजिपीको  घरबाट १२ सुरक्षाकर्मी फिर्ता 

पूर्वआइजिपीहरू दुर्लभकुमार थापा, रमेश चन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालको घरमा अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ ।

थापाको घरबाट दुई कार्यालय सहयोगी, ठकुरीको घरबाट एक जवान र एक कार्यालय सहयोगी, गुरुङको घरबाट एक असइ, दुई हवल्दार र एक कार्यालय सहयोगी, राणाको घरबाट तीन जवान र अर्यालको घरबाट एक असइ फिर्ता गरिएको छ ।

राणा भ्रष्टाचार मुद्दामा दुई वर्षदेखि फरार छन्, तर उनको घरमा सुरक्षाका नाममा प्रहरी भने खटाइएको थियो ।  

२२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ फिर्ता

डिआइजी र एसएसपीले दुरुपयोग गरेका सुरक्षाकर्मी पनि फिर्ता गरिएको छ । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट प्रहरी तानिएका छन् । पूर्वडिआइजी गणेश केसी र पवन खरेलले राखेका तीन–तीनजना प्रहरी फिर्ता गरिएको छ । 

यस्तै, हिमबहादुर गुरुङबाट दुई, पुष्कलराज रेग्मीबाट एक, इन्द्रबहादुर शेरचनबाट एक, श्याम खड्काबाट एक, नवराज सिलवालबाट दुई, दीपककुमार श्रेष्ठबाट एक, रोमेन्द्रसिंह देउजाबाट एक, गोविन्दप्रसाद निरौलाबाट एक, सुदीप आचार्यबाट दुई तथा भोगबहादुर थापाले लगेका दुई प्रहरीलाई तानेर नियमित ड्युटीमा लगाइएको छ । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्