ठगी मुद्दामा नेकपाका प्रदेश सदस्य बैठा पक्राउ



वीरगन्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठालाई प्रहरी पक्राउ गरेको छ । उनलाई ठगी मुद्दामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर लगाई दिने भन्दै एक व्यक्तिसँग ७ लाख घुस लिएको आरोपमा बैठालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक समोन्द्र सिंह राठौरले बताए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार २०७२ सालमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ सगैया निवासी प्रदिपकुमार साहलाई प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनि बैठाले ७ लाख घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा २ महिना पहिला नै मुद्दा दर्ता भएको थियो ।

त्यही मुद्दामा बैठालाई आज नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताए । उक्त ठगी मुद्दामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा २ जना पक्राउ परी केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भइसकेको र प्रमुख अभियुक्त मानिएका पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी बैठा आज आफैँ जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्