उम्मेदवार सिंहविरुद्ध निर्वाचन कार्यालयमा उजुरी



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट अल्पसंख्यकमा संयुक्त उम्मेदवार शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

माघ ९ गते बिहीबार हुन गईरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा–राजपाको तर्फबाट अल्पसंख्यकमा संयुक्त उम्मेदवार सिंहले कैद भुक्तान नगरेको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयम आज (सोमबार) उजुरी दिएको हो ।

सप्तरीको कोइलाडी गाउँपालिका–४ बस्ने सिंह विरुद्ध २०४४ असार ३० गते कुटपिट तथा अंगभंग मुद्दामा जिल्ला अदालतबाट दुई वर्ष कैद सजाय तोकिएको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले २०५६ पुस १ गते पुनरावेदनको हिस्सा नहुने अन्तिम आदेश गरेको थियो ।
आज कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला पजियारले सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् ।

राजपाको तर्फबाट उम्मेदवारी दिएका सिंहले कुटपीट मुद्दामा उनीसहितकाले दुई वर्ष कैद र जरिवाना सप्तरी जिल्ला अदालतबाट सजाय पाएकाले सिंहको राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको दाबी गर्दै कांग्रेस उम्मेदवार पजियारले मनोनयन खारेज गरी पाउँ भन्दै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको बताए ।

अदालतबाट फौजदारी कसुरमा दोषि ठहर भइसकेका सिंहले सर्वोच्च अदालतको फैसलालाई समेत अटेर गर्दै आत्मसमर्पण समेत नगरी सजाय भुक्तान नगरेकाले उनको उम्मेदवारले कुनैपनि सेवा सुविधा प्राप्त गर्ने नहुने भएकाले तत्काल उम्मेदवारी मनोनयन खारेजीको माग गरेको छन् ।

राज्यले अपराधी घोषित गरिसकेको व्यक्तिलाई राज्यको सर्वोच्च अंगमा उम्मेदवार हुन पाउने अधिकार समेत हुँदैन,‘ उनले भने । अपराध र अपराधीलाई हतोत्साहित गर्नुपर्नेमा राज्यको संरक्षणमा नै यस्ता अपराधीलाई प्रोत्साहित गरि सत्तापक्षबाट उम्मेदवार बनाइनुले कानूनी राज्य र कानूनी शासनको मर्ममा समेत आघात पुग्ने उजुरी पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्