सभामुखको उम्मेदवार बनेका सापकोटाले खोले यस्तो रहस्य



काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गरेका नेता अग्नि सापकोटाले आफूमाथि लागेका अभियोग, आफ्नो भावी भूमिका र अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा बीबीसीसँग आफ्ना धारणा राखेका छन्।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख उम्मेदवारलाई लिएर रहेको लामो मतभेद अन्तत: सापकोटालाई अघि सार्ने सहमतिका साथ आइतवार टुङ्गो लागेको हो।

पूर्वमाओवादी नेता सापकोटा नेकपाका स्थायी समिति सदस्य हुन्।

नेकपाको सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै लामो समयदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठकको बाटो खुलेको छ।

एमसीसी के हुन्छ?

अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीप्रति सत्ताधारी दलकै उच्च नेताहरूले गम्भीर आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओली र मन्त्रीहरूले उक्त सम्झौता संसद्‌बाट अनुमोदन गराउने बताउँदै आएका छन्।

प्रधानमन्त्रीले त पूर्वसभामुख कृष्णबहादुर महराले त्यसो गर्न असहयोग गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए।

नेकपाको बहुमत रहेकाले सापकोटा सभामुख निर्वाचित हुने निश्चित जस्तै देखिन्छ।

सभामुख बनेपछि उनले एमसीसी अनुमोदन गराउन पहल गर्छन्?

सापकोटाले त्यसबारे पार्टीले पनि सचिवालयबाट निर्णय गर्ने भनेको र त्यो राष्ट्रिय बहसमा रहेको बताउँदै एउटा निष्कर्षमा पुगिने बताए।

‘गोप्य सहमति छैन’

एमसीसीको पक्ष वा विपक्षमा आफूलाई प्रस्तुत गर्न नचाहेका उनले त्यस विषयमा राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे।

अग्नि सापकोटा

सभामुख चयनलाई लिएर प्रधानमन्त्रीले एमसीसी अनुमोदनप्रति पनि चासो राखेका खबर आएका छन्।

त्यसप्रति प्रचण्ड र स्वयम् सापकोटाले उनलाई आश्वस्त पारेको हुन सक्ने कतिपयको आकलन छ।

तर सापकोटाले त्यसबारे कुनै कुराकानी नभएको बताए।

उनले भने, “(त्यसबारे) प्रसङ्ग नै उठेको छैन। कुनै ठोस विषयमा यसो वा उसो भनेर प्रधानमन्त्री वा अध्यक्ष कसैले केही भन्नुभएको छैन। त्यस्तो केही कुरा छैन। जे छ खुला छ।”

‘काखापाखा हुन्न’

नेकपाले सरकारलाई सहज हुने पात्र सभामुखमा चाहेको चर्चा थियो।

अघिल्ला सभामुख महराले असहयोग गरेको भन्ने गुनासो गर्ने गरेको बताइन्थ्यो।

लामो बहसपछि अन्तत: सभामुख बन्न लागेकाले सापकोटा सरकारलाई सहज हुने गरी प्रधानमन्त्रीको चाहना सम्बोधन गर्नुपर्ने बाध्यतामा पर्ने विश्लेषण पनि गरिन्छ।

तर सापकोटाले कसैलाई काखापाखा नगर्ने बताए।

उनले भने, “मैले सदनको गरिमा राख्दै सदनलाई जीवन्त राख्ने, लोकतन्त्रलाई सुदृढ बनाउने र सन्तुलित भूमिका नै निर्वाह गर्नेछु।”

नेकपाले सभामुखमा सापकोटालाई अघि सार्ने निर्णय गरेसँगै उनीमाथि ‘हत्या अभियोग लागेको’ भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ठूलो चर्चा भइरहेको छ।

‘म दोषी छैन’

उनले जिल्ला र उच्च अदालत हुँदै हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा पुगे जस्तो गरी प्रचार भएको तर त्यो सत्य नभएको बताए।

अपहरण गरेर हत्या गरिएका भनिएका अर्जुन लामालाई आफूले नचिनेको र उनको नाम पनि नसुनेको तर त्यसमा आफूलाई मुछ्न खोजेको उनको भनाइ छ।

वर्षमान पुनका साथ नेता अग्नि सापकोटा

त्यस्ता द्वन्द्वकालीन घटनाहरू सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा पर्ने उनको दाबी छ।

उनका अनुसार लामाकी पत्नीले आयोगमा निवेदन समेत दिइसकेकी छन्।

त्यसले आफ्नो काममा कुनै प्रभाव नपार्ने बताउँदै उनले भने, “त्यस घटनामा मेरो कुनै पनि संलग्नता पनि छैन। त्यसकारण त्यसले काममा मेरो ऊर्जा र नैतिक धरातल कमजोर बनाउँदैन।”

शान्तिवार्ताकार

सत्य निरूपण तथा मेलमिलाप आयोगमा हालै पदाधिकारी सिफारिस गरिएका छन्।

तर द्वन्द्व पीडितहरूका संस्थाहरूले राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसप्रति विरोध जनाएका छन्।

बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले राजीनामा दिएका थिए।

पूर्वमाओवादीबाटै सभामुख बनाउने प्रचण्डको अडानपछि सापकोटाले उक्त जिम्मेवारी पाउने बाटो खुलेको हो।

उनी यसअघि ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मन्त्री थिए।

दुई पटक मन्त्री बनेका सापकोटा विफल भएको शान्ति वार्तामा महरा नेतृत्वको माओवादी टोलीका एक सदस्य थिए। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्