आवुधावीमा सात महिनादेखि डेढ सय नेपाली अलपत्र



काठमाडौं: संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा छन्। अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन्। 

 

यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झन्डै एक हजार श्रमिक छन्। कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकिने जनाएको छ। भिसा नवीकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ। श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी रहेको खबर आजको कान्तिपुर दैनिकमा छ। 

 

तीन महिनादेखि खानाको व्यवस्था गरिएको छैन। चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए। ‘सात महिनादेखि बिनाकाम बस्नुपरेको मानसिक तनाब त छँदै छ। त्यसमाथि अहिले आफैंले जे गर्न सक्छ गर भन्दै कम्पनी पन्छियो,’ सुर्खेतका रवीन्द्र श्रेष्ठले भने, ‘कैयौं साथीहरूको भिसा सकिएको छ। उनीहरूको दैनिक जरिवाना लागिरहेको छ। चाहेर पनि आफैं स्वदेश फिर्न सकिरहेका छैनौं।’

 

कम्पनीले डिसेम्बरभित्र पर्खन भनेकाले सुरुमै दूतावास नगएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्