सीमा सुरक्षालाई चुनौती दिँदै गाडीबाटै तस्करी



भैरहवा : सीमा सुरक्षालाई चुनौती दिँदै रुपन्देहीमा तस्करीका घटनाहरु बढेका छन् । बिगतमा कन्टेनर नै सीमा सुरक्षा छल्दै नेपाल आएका घटनाहरु सेलाउन नपाउँदै सीमा नाकाबाट नेपाली नम्बर प्लेटका गाडीहरु सीमा सुरक्षा निकायलाई छल्दै नेपाल भित्रिन सफल हुने गरेको देखिएको छ ।

सीमा सुरक्षा बिओपि मझगाँवालाई समेत गाडीले छलेर भैरहवासम्म आउन सफल भएको देखिएको छ । रुपन्देहीको मर्चवार क्षेत्रबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ८२५९ नम्बरको छोटा हात्तीमा बिना बिल मोटर तथा गाडीका सामान आयात गरेको भन्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ भैरहवा बिमानस्थल क्षेत्रको अगाडीबाट बुटवलतर्फ जाँदै गरेको गाडीलाई प्रहरीले पुष २७ गते आइतबार नियन्त्रणमा लिएको थियो ।

गाडीका सामानहरु बुटवलको मैनाबगर लैजाने क्रममा प्रहरीले गाडीलाई नियन्त्रणमा लिए पनि सामान चोरी निकासी गर्ने फरार भएको प्रहरीले बताएको छ ।

कबाड भनेर आएको गाडीका सामान कुनै गाडीमा राख्नका लागि बुटवलको मैनाबगरमा लैजाँदै गरेको अवस्थामा बील नभएको भेटिएकाले नियन्त्रणमा लिई कारबाही अगाडी बढाएको प्रहरीले बताएको छ ।

सामान ल्याउने मानिस सम्पर्कमा नआएको गाडी भाडामा ल्याइएको भटिएकाले गाडी चालक अनिल चौधरीलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता खडक बहादुर खत्रिले बताए । गाडी र सामानसहित जिल्ला प्रहरी कार्यालयले भैरहवा भन्सार कार्यालय पठाएको छ ।

गाडीको ८ लाख रुपैयाँ र सामानको ५८ हजार रुपैयाँ मुल्याकंन गरी भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी प्रबक्ता खडक बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्