नेकपाबाट निर्वाचित वडाअध्यक्षहरु मेयरको विरोधमा



जनकपुरधाम : धनुषाको नगराईन नगरपालिकाका नगरप्रमुखले मनोमानी गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्षहरु विरोधमा उत्रेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कुनै काम नै नगरी नगरमा हुने बिकास निर्माणका कार्यहरुमा व्यापक भ्रष्टाचार हुँदा समेत सो सम्बन्धमा नगर प्रमुखलाई पटक पटक जानकारी गराउँदा समेत उनले कुनै सुनुवाई नगरेको नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले सोमबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् ।

मेयर यादवले नगरसभाबाट पास नै नगरी वडा नम्बर–८ अकौरास्थित ठाकुर पोखरीको घाट निर्माणमा ५० लाख,वडा नम्बर–३ मा २५ लाख र वडा नम्बर–९ मा २५ लाख गरि जम्मा १ करोड रुपैयाँमा व्यापक भ्रष्टाचार गरेको वडा नम्बर–५ का अध्यक्ष संजय कुमार राउतको आरोप छ ।

आर्थिक बर्ष २०७६÷०७७ को तेश्रो नगरसभाबाट पारित भएको वडास्तरिय योजनालाई कार्यपालिका बैठकको बहुमतबाट संशोधनको निर्णय गर्न नपाउने तथा २०७६÷०७७ को चौथो नगरसभाबाट अनुमोदन गराउन नपाउने साथै नगरसभाबाट पारित भएको वडास्तरीय योजनालाई कार्यान्वयन गर्नबाट रोक्न नपाउने,वडा भित्र पर्ने जुनसुकै योजना वडा समितिद्धारा उपभोक्ता समिति गठन भई सञ्चालन गराई कार्य सम्पन्न प्रतिवेदन वडाबाट हुनुपर्ने,वडा भित्र पर्ने योजनालाई नगरपालिकाबाट उपभोक्ता समिति गठन गरि सञ्चालन गर्न नपाउने तथा सम्पन्न प्रतिवेदनद्धारा भुक्तानी गर्न नपाउने,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई परिवर्तन गरि मेयर स्वरोजगार कार्यक्रम नामाकरण गरि काम गर्न नपाउने लगायतका १८ बुँदे मागहरु नेकपाका वडाध्यक्षहरुले अघि सारेका हुन् ।

मेयर यादवले आर्थिक बर्ष २०७४÷०७५ को खानेपानी ह्याण्डपाईपको बजेटलाई ०७५÷०७६ मा खर्च गर्न नमिल्ने भएपनि सो रकम मनोमानी ढंगले खर्च गरि सम्बन्धित वडालाई कुनै जानकारी नै नदिई भ्रष्टाचार गरेको वडा नम्बर–४ का अध्यक्ष अमिरीलाल राउतको आरोप छ । उनीहरुले आफुहरुको माग सम्बोधन नगरिएसम्म चरणबद्ध रुपमा आन्दोल जारी राख्ने चेतावनी समेत दिएका छन् ।

नगराइन नगरपालिकामा मेयर परमेश्वर यादव,उपमेयर रञ्जु कुमारी साह र ५ जना वडाअध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् भने वडा नं. ४ का अमिरी लाल राउत, वडा नं. ५ का संजय कुमार राउत, वडा नं. ६ का प्रमोद साह र वडा नं. ७ का अध्यक्ष रामदुलार मुखिया नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्