सभामुख निर्वाचनका लागि यस्तो छ कार्यतालिका



काठमाडौं : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार भोली मंगलबार ७ गते सभामुख मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

भोेली बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मनोनयन हुने भएको हो ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएपछि जेष्ठ सांसदको हैसियतले महन्थ ठाकुरले आजको प्रतिनिधिसभाको बैठक संचालन गरेका थिए । बैठकबाट सभामुख चयनको मिति माघ १२ लाई तोकिएको छ ।


लामो समयदेखि सभामुख पदमा कसलाई उठाउने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले निर्णय गर्न नसक्दा संसद बैठक बस्न सकेको थिएन । हिजो आईतबार नेकपाले अग्नि सापकोटालाई सभामुख चयनका लागि प्रस्तुत गरेपछि आज संसद बैठक बोलाईएको थियो ।

संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै सभामुख चयनको कार्यतालिका रहेको जनाएका हुन । कार्यतालिकाअनुसार ७ गते मनोनयन दर्ता र उम्मेदवारहरुको क्रमाङ्क मिलाउने जनाईको छ । यस्तै सभामुख चयनको लागि माघ १२ गते ३ बजे बैठक बस्ने जनाईएको छ ।

सभामुख चयनका लागि प्रतिनिधि सभाको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ ।

निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सोही दिन अर्थात माघ ७ गते २ः३० भित्र सूची प्रकाशन गरिनेछ ।

त्यस्तै माघ १२ गते प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ । त्यसमा समर्थक सदस्यले समर्थन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्