भेनेजुयलाका राष्ट्रपति माडुरोको दोस्रो कार्यकालको शपथ



काराकास: भेनेजुयलामा गहिरो आर्थिक संकटबीच राष्ट्रपति निकोलस माडुरोले बिहीबार आफ्नो दोस्रो कार्यकालको शपथ लिने तयारी भइरहेको छ। अन्तर्राष्ट्रियस्तरमा उनीमाथि पद छोड्न दबाब कायम रहेकै बेला उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

 

एक दर्जन ल्याटिन अमेरिकी देशका सरकार र क्यानाडाले माडुरोको अर्को कार्यकालको औचित्य अस्वीकार गरेका छन्। अमेरिकाले उनको सरकारका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ। क्युबाका राष्ट्रपति म्युगुएल डियाज क्यानेल र बोलिभियाका राष्ट्रपति इवो मोरालेज आफ्नो समर्थन देखाउन काराकास पुगेका छन्।

 

देशमा ब्याप्त आर्थिक मन्दी, अत्यधिक महँगी र बढ्दो तानाशाहीबीच माडुरोको बढ्दो प्रभावका कारण ठूलो संख्यामा भेनेजुयलाका नागरिकहरु पलायन हुन थालेका छन्। सरकारको अनुदानमा समेटिएकाहरुले भने राष्ट्रपतिको समर्थन गरिरहेका छन्।

 

सरकारी अनुदानमा आश्रित दुई सन्तानकी ४३ वर्षीया आमा फ्रान्सिस बेलाज्केजले भनिन्– ‘यो राष्ट्रपतिको गल्ती होइन।’ बेलाज्केजले दुर्लभ वस्तुहरुको मूल्य बढाएर उनीजस्ता अन्य परिवारको जीवन कठिन बनाइरहेका अवसरवादीहरुलाई दोषी ठह¥याइन्। तर निर्माण क्षेत्रमा काम गर्ने एक मजदुर रमेन बरमुडेजजस्ता असहमत पक्षले माडुरोको शासनसँग कुनै अपेक्षा नगरेको बताए।

 

काराकासको फुटपाथमा सयौंको संख्यामा ग्यासका लागि लाइनमा रहेकाहरुसँगै बसेका बरमुडेजले भने– ‘अब सबै ईश्वरलाई छोडेका छौं र ईश्वरसँग मद्दतका लागि प्रार्थना गर्छौं।’ माडुरोले बुधबार एक पत्रकार सम्मेलनमा भनेका थिए– ‘न त पहिला, न त अहिले, भेनेजयुयलामा कुनै बेला तानाशाह हुनेछ।’

प्रतिक्रिया दिनुहोस्