नाम मात्रैको निःशुल्क वाइफाइ !



काठमाडौं : उदयपुरका उमिसा मगर शनिबार घुम्नलाई स्वयम्भू गइन् । विदेशमा रहेको साथिले स्वयम्भू कस्तो भयो होला मलाई हेर्न मन लागेको छ भनेपछि उमिसालाई स्वयम्भू साथिलाई देखाउन मन लाग्यो । अनि उनलाई झ्वाट्ट याद भयो काठमाडौं महानगरपालिकाले विभिन्न स्थान जस्तै सम्पदा क्षेत्र, एयरपोर्ट, हस्पिटल र पार्क लगायतका स्थानमा निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गरेको छ । उनले साथिलाई स्वयम्भू पुगेर भिडियोकल मार्फत स्वयम्भूको भ्यू देखाउने बाचा सहित पुगिन् । तर, उनले त्यो बाचा पूरा गर्न भने सकिनन् । कारण थियो महानगरपालिकाले निःशुल्क इन्टरनेटको व्यवस्था गरेको भनेपनि त्यहाँ पुगेपछि थाहा भयो कि निःशुल्क इन्टरनेट त कामै नलाग्ने रहेछ ।

उनले भनिन्,‘ निःशुल्क इन्टरनेट त नाम मात्रको पो रहेछ । मेरो मोबाइलमा त कनेक्ट नै भएन । सँगै गएको साथिको मोबाइलमा मोबाइल नम्बर राख्न भन्यो तर, कोड नै पठाएन । धेरै पटक ट्राइ गर्यो । इन्टरनेट कनेक्ट गर्न खोज्दा खोज्दै पौने घण्टा बित्यो, तर भएन । समय मात्र खर्च भयो ।’ यस्तो निःशुल्क वाइफाइबाट उनी मात्र हैन धेरैले हैरानी खेपेका छन् । कहि कतै जाँदा मानिसले सबैभन्दा पहिले खोज्ने भनेको इन्टरनेट नै हो । इन्टरनेट प्रयोग नगर्ने पर्यटक कमै हुन्छन् ।

निःशुल्क इन्टरनेटले पर्यटकलाई थप सुविधाको अनुभूति दिन्छ । आवश्यक सूचना पनि संकलन गर्न सकिन्छ । उनी जस्तै अर्का उमेश बस्नेतलाई पनि लाग्छ, फ्रि वाइफाइको काम नै छैन ।
नाम मात्रैको वाइफाइ छ । उनी भन्छन्, ‘यसो शनिबारको दिन पार्कमा साथिहरुसँग मिलेर गु्रप स्टडि गरऔं भन्यो इन्टरनेट नै चल्दैंन । आफुलाई नआएको इन्टरनेटमा हेरेर साथिहरुसँग बसेर पढ्न पाए त धरै राम्रो हुन्थ्यो । कहिले काहि चल्यो भने पनि ५ देखि १० मिनेटभन्दा बढि चल्दैन । त्यहि पनि यति ढिलो चल्छ नि । त्यो वाइफाइ चलाउनुभन्दा त न चलाउनु नै वेस हुन्छ ।’

पर्यटकका लागि त झन यस्तो निःशुल्क वाइफाइको आवश्यक रहेको उनको भनाइ छ । हुन पनि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमै महानगरपालिका भित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र स्वयम्भू, पशुपति, बौद्ध, बसन्तपुरलगायत स्थानमा द्रुत गतिको ‘फ्रि वाइफाइ जोन’ बनाउने बताएका थिए । उनले गरेको बाचा अनुसार निःशुल्क इन्टरनेटको व्यवस्था त गरे तर प्रभावकारी हुन सकेको छैन । नाममै मात्र सिमित भयो, ‘फ्रि वाइफाइ जोन’ । यस विषयमा महानगरले अनुगमन समेत गरेको पाइदैन ।

मेयर शाक्यले चुनावी घोषणमा धेरै कुरा भनेका छन्, त्यसमध्ये कति कुरा त घोषणमै सिमित छन् भने उनले शुरु गरेको ‘फ्रि वाइफाइ जोन’ ले जनतामा खुशी छायो । तर, त्यो खुसी धेरै समयसम्म रहन सकेन । अन्ततः त्यो काम प्रभावकारी भएन ।

सम्पदा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटनलाई सहज इन्टरनेटको पहुँच दिन निःशुल्क इन्टरनेटको व्यवस्था मिलाइएको हो । धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलमा मानिसको चाप धेरै हुने भएकाले उनीहरूको सुविधाका लागि निःशुल्क इन्टरनेट प्रदान गरियो । अहिले धेरै मानिसको हातमा स्मार्टफोन छ । स्मार्टफोनबाट सामाजिक सञ्जालको प्रयोग गर्ने संख्या पनि उच्च छ । निःशुल्क इन्टरनेट प्रदान गर्दा सम्पदाको प्रचार हुन्छ भन्ने महानगरको बुझाइ छ ।

काठमाडौं सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँ गरिने हरेक कार्य पर्यटकका लागि रुचीको विषय हुन्छ । निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा पर्यटकले सामाजिक सञ्जालको प्रयोगबाट यसको प्रचार गर्छन् । सम्पदा क्षेत्रमा हुने गतिविधिलाई सामाजिक सञ्जालमा लाइभ गरेर रोचक र नौलो विषयप्रति रुची राख्नेको ध्यानाकर्षण गरिरहेका हुन्छन् ।

द नेपाल टपले यस विषयमा जानकारी लिन खोज्दा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अहिलेसम्म यस्तो गुनासो आफुसँग नआएको बताउँदै भने,‘ हामी कहाँ खासै प्रभावकारी भएन भन्ने गुनासो आएको छैन । हामीले सम्पदा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटनलाई सहज होस् भनेरै निःशुल्क इन्टरनेटको व्यवस्था मिलाइएका हौं । तर, यसको प्रभावकारिता बारे खासै जानकारी छैन । बुझेरपछि म जानकारी गराउछु ।’

नेपाल घुम्न आउने अधिकतम पर्यटक मध्यम आय भएका हुन्छन् । त्यस्ता पयर्टकले पनि निःशुल्क इन्टरनेटको लाभ लिन्छन् । तर, नाम मात्रको वाइफाइले कसरी लाभ लिन्छन् त ? महानगरले यसतर्फ ध्यान दिन जरुरी छ ।

महानगरपालिकाले काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भू, बौद्ध, वसन्तपुर र शंखपार्कमा फ्रि वाइफाइ सेवा गरेको छ । महानगरले वल्र्ड लिंकसँग गरेको सम्झौता अनुसार हरेक स्थानमा १० एमबिपिएस व्याण्डविथ क्षमताको सेवा जडान गरिएको छ र प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । तर, प्रभावकारी नहुँदा प्रयोगकर्ताहरु झुक्कि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्