त्रिविको जग्गा मिचेर बाटैबाटो



काठमाडौं : त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । 

गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडी चल्छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो ।

त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ ।

बाटो खोलिएपछि त्रिविले आफ्नो जग्गा छाडेर काँडेतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउनेसर्तमा बाटो खोल्न दिइएको हो । 

‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौं,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट नेपाल बैंकतर्फ जाने बाटो पनि त्रिविकै जग्गामा बनाइएको छ । पहिले गोरेटो बाटो थियो । अहिले चौडा बनाएर पिच गरिसकिएको छ । गोरेटो बाटो भएका ठाउँमा स्थानीयको सुविधाका लागि विश्वविद्यालयको सहमतिमा केही जग्गा लिएर बाटो खोलिएको सांसद श्रेष्ठले बताए ।

‘जनताको हितका लागि बाटो फराकिलो बनाइएको हो,’ उनले भने, ‘बाटो बनाएपछि विश्वविद्यालयले काँडेतार लगाएर योभन्दा यताचाहिँ आउन पाइँदैन है भनिसकेको छ । खानेपानीको टयांकर, दमकलसमेत बस्तीमा सहजै छिर्न सक्ने भएको छ ।’ 

यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पर्खाल लगाउनका लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताए । यो बाटो खुलेपछि बस्तीमारहेका विश्वविद्यालयकाकर्मचारी, प्राध्यापकलगायत प्राज्ञिक समुदायले समेत सुविधा लिइरहेको उनले दाबी गरे । कर्मचारी भने पदाधिकारीकमजोर हुँदा त्रिविको जग्गामाथि बाघको छालामा स्यालको रजाइँ भइरहेको बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्