प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) केहीबेरमा ’भिडियो कन्फ्रेन्स’मार्फत एकैसाथ विराटनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उद्घाटनका साथै भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका नुवाकोट र गोरखाका निजी घरहरु हस्तान्तरण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट र भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नयाँ दिल्लीको हैदावाद हाउस कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर एकीकृत जाँच चौकीको उद्घाटन गर्ने भएका छन् ।

२०७२ सालको महाविनासकारी भुकम्पबाट भत्किएका नुवाकोटर र गोरखाका निजी घरहरु भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका हुन् ।

त्यस्तै विराटनगरमा भन्सार जाँच चौकी एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारत सरकारले निर्माण गरेको हो । त्यही जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट सामान बोको ट्रक नेपाल भित्रने छ । भारतको सिमाना नजिकै १ सय २९ विघा क्षेत्रफलमा जाँच चौकी निर्माण गरिएको छ ।

नेपालतर्फ बनेको भन्सार जाँच चौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको थियो । जाँच चौकी निर्माणपछि विराटनगर रानीसँग जोडिएको जोगबनी बजारका साथै सीमावर्ती सडकको सवारी चाप पनि घट्ने विश्वास लिइएको छ ।

भारतका लागि नेपाली राजदूत निलम्बर आर्यायले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा एकीकृत सिमा चौकीको उद्घाटन र निजी घरहरु हस्तान्तरण कार्यले दुई देशबीचको आपसी सम्बन्ध बढ्नेका साथै आधुनिक प्रविधिले नयाँ आयाम ल्याउने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्