सभामुखमा सापकोटा निर्विरोध



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट स्थायी समिति सदस्य रहेका अग्नी प्रसाद सापकोटाले आज (मंगलबार) प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदावरी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले नेकपाले अघि सारेको सापकोटालाई समर्थन गर्ने निर्णय भएपछि सापकोटा निर्विरोध सभामुख बन्ने भएका हुन् ।

प्रतिनिधि सभामा नेकपाको स्पष्ट बहुमत भएको कारणले अरु दलबाट उम्मेदवारी दिए पनि सापकोटा विजयी हुने निश्चित नै थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको शीर्ष नेताहरुबीचको वार्तामा सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबधता आएपछि कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएको बताएका छन् । कांग्रेसले उपसभामुख पद आफूले पाउनुपर्ने भन्दै दाबी गर्दै आएको छ ।

संसद सचिवालयले सभामुख निर्वाचनका लागि कार्यतालिका प्रकाशन गर्दै आज बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन गर्ने समय सार्वजनिक गरेको थियो । अपराह्न २ः३० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यहार गरेको आरोप लगोपछि तत्कालिन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको थियो ।

रिक्त सभामुख पदको निर्वाचनको लागि हिजो (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकलाई अध्यक्षता गरिरहेका महन्थ ठाकुरले संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलाई आवश्यक प्रतिक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए । सो निर्देशन अनुरुप संसद सचिवालयले आज मनोनयन दर्ता र आगामी १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्