‘कांग्रेस र नेकपा मधेसीका लागि भाडाको घर हो’



जनकपुर : प्रदेश २ उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले नेपाली कांग्रेस र नेकपा मधेसीका निम्ति भाडाको घर भएको बताएका छन् । 

सप्तरीस्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा सभालाई सम्बोधन गर्दै उनले राजपा भने आफ्नै घर भएको बताएका छन् । 

 

उनले भने, ‘राजपा मधेसी जनताको आफ्नै घर हो, यसमा मधेसीको श्रम र पसिना लागेको छ । भाडाको घरबाट कुनै पनि बेला निकालिन सकिने हुँदा त्यसरी डर र त्रासमा नबस्नुस् ।’ उनले आफ्नो घर आफ्नै हुन्छ भन्दै कांग्रेस र नेकपामा भएका मधेसी नेतालाई राजपा फर्कन अनुरोध गरे । उनले थपे, ‘नेपाली कांग्रेस महेन्द्रनारायण निधिको घर हुन सकेन भने महन्थ ठाकुरको झन कसरी होला ।’

  

उनले बेलैमा सचेत भई आफ्नो घर आफैं बनाउनतिर लाग्न कांग्रेस तथा नेकपामा भएका मधेसी नेतालाई आग्रह गरे । उक्त कार्यक्रममा एक हजार बढी नेता कार्यकर्ता कांग्रेस, कम्युनिस्ट र फोरम परित्याग गरी राजपा प्रवेश गरेका थिए । नवप्रवेशी उनीहरुलाई राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्