प्रधानसेनापति थापा आज भारत जाँदै



काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि शुक्रबार (आज) भारत जाँदै छन् । भारतीय सेनाका स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति थापा भारत जान लागेका हुन् । उनी २ माघमा स्वदेश फर्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति भएपछिको उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

शनिबार उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्थलसेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । दुवै देशका सेना प्रमुखहरूलाई कदरस्वरूप मानार्थ महारथी दिने प्रचलन रहँदै आएको छ । भ्रमणमा क्रममा प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री निर्मला सीतारमण, समकक्षी स्थल सेनाका सेनाध्यक्ष रावत र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपाली सेनाको प्रवक्तामा नियुक्त सहायक रथी यामप्रसाद ढकालले जिम्मेवारी सम्हालेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको कार्यभार बिहीबारबाट ढकालले सम्हालेका हुन् । यसअघि प्रवक्ता रहेका सहायक रथी गोकुल भण्डारीले बिहीबार जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा ढकाललाई कार्यभार हस्तान्तरण गरेको निर्देशनालयले जनाएको राजधानीमा खवर छ ।

सो क्रममा भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने क्रममा आमसञ्चार जगतका सबै मिडिया, प्रकाशक, सम्पादक तथा रक्षासँग सम्बद्ध पत्रकारहरूबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि धन्यवादसमेत दिएका छन् । भण्डारीको केही दिनअघि मात्रै नेपाली सेनाको तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधिकृतका रूपमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्