पृथ्वीजयन्ती मनाउने कि नमनाउने ?



लोकतन्त्रमा इच्छाअनुसार कुनै पर्व, कसैको जन्मदिन मनाउन सबैलाई छुट छ । तर कसैको जन्मजयन्ती राज्यले मनाईदिनुपर्छ भन्नु कत्तिको जायज हो ?

किनकि, शासकहरुले आफ्नो पक्षमा इतिहास लेखाउने प्रचलन नै छ । त्यसका सयौ दृष्टान्त हामीसामु छन् । किन भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापाजस्ता सयौ वीरहरुको बारेमा चर्चा हुँदैन ? किनकि, उनीहरु नागरिक थिए, पृथ्वीनारायण शासक । 

राजतन्त्र छउन्जेल पृथ्वीनारायणमात्र होइन त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र र पारससम्मको जन्मजयन्ती राज्यले मनाइदिनुपर्थ्यो । पारसको योगदान यो मुलुकमा के थियो ? शासकको छोरा भएकैले उनको जन्म जयन्ती राज्यले देशवासीले मनाइदिनुपर्ने ? नेपालको गुमेको भूभाग बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता ल्याउने जंगबहादुर राणाको योगदान पक्कै पनि त्रिभुवनदेखि पारससम्मका शासक र उनका प्रतिनिधिभन्दा बढी छैन र ? 

प्रजातान्त्रिक आन्दोलनमा वीपी कोइरालादेखि गणेशमान सिंहसम्मको ठूलो योगदान छ । मनमोहन अधिकारी, मदन भण्डारी पनि असल राजनेता मानिन्छन् । सम्बन्धित पार्टी वा सरोकारवाला पक्षले उनीहरुको जन्म दिन मनाउने गर्छन्, यो स्वभाविक पनि हो । 

भोली यी सबैको जन्मदिन राज्ले मनाइदिनुपर्छ र बिदा दिनुपर्छ भन्ने आवाज उठ्यो भने के हुन्छ ? के ३६५ दिन नै कसै न कसैका जन्म दिन मनाइरहने,  सार्वजनिक बिदा दिने ? 

मुलुकको एकीकरणमा पृथ्वीनारायणको भूमिका अवमूल्यन गर्न खोजेको होइन तर यो प्रक्रियामा उनी एक्ला थिएनन् । त्यसैले राष्ट्रिय एकता दिवस मनाउने र त्यसक्रममा पृथ्वीनारायणलाई स्मरण गर्नु फरक कुरा हो तर उनको जन्मजयन्ती पनि राज्यले मनाईदिनुपर्छ भन्नु उचित छैन । 

किनकि, नेपाल एकीकरणमा उनको मात्र भूमिका छैन । राजा भएकाले इतिहास अलि उनका पक्षमा रंग्याइएको र नेतृत्वदायी भूमिका देखाइएको हो । बिसे नगर्चीका कुरा लेख्न श्रवण मुकारूंगहरू जन्मिनुपर्यो, २४० वर्षपछि लेखियो उनका कुरा, त्यो पनि पृथ्वीका सन्ततीले जनतामाथि ज्यादती गर्न थालेपछि । 

एकीकरणकै सन्दर्भमा पनि त्यस्ता धेरै पात्र छन्, जसको भूमिका पृथ्वीनारायणको भन्दा कम छैन । त्यसमाथि हाम्रो पुस्ताले गर्व गरोस् भनेर एकीकरण अभियान थालिएको होइन । त्यो तत्कालीन आवश्यकताको परीणाम थियो ।

विपी कोइरालाले लेखेका छन्, ‘पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।’

इतिहासमात्र होइन साहित्य पनि शासकका पक्षमा लेखाइने, लेखिने गरेको छ । राजकुमार दिक्पालहरूको कथा हाम्रा पाठ्यक्रमहरूमा राख्नुको एउटै उद्देश्य थियो, तिमी रैतीहरुभन्दा राजारराजकुमार निकै बहादुर हुन्छन् । त्यसैले तिमी रैतीहरू चुप लागेर बस भनेर स्कुले जीवनको कलिलो मस्तिष्कमा दूरगामी प्रभाव पार्न त्यस्ता कथा लेखाइयो । 

त्यसले हाम्रो र अघिको धेरै पुस्तामा जनता कमजोर छ र हीन भएर बस्नुपर्छ भन्ने नकारात्मक प्रभाव पारेको छ । हिजो ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेर घोक्रो सुक्नेगरी कराउन बाध्य पारियो । हो देश प्यारो छ, राजा होइन । एकता दिवस मनाउन सकिन्छ, पृथ्वीनारायणको जन्मदिन होइन ।

–सरोजराज अधिकारीको ब्लगबाट

प्रतिक्रिया दिनुहोस्