कांग्रेस र राजपाको समर्थनमा सापकोटा बने नयाँ सभामुख



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)को समर्थनपछि नेकपाका स्थायी समिति सदस्यसमेत रहेका अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

संसदमा स्पष्ट बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखमा अघि सारेको थियो । उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन गर्दै अर्को उम्मेदवार नउठाएपछि उनी निर्विरोध निर्वाचित हुन पुगेका हुन् ।

उनले आज (मंलगबार) प्रतिनिधिसभाको सभामुख पदको लागि नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङको प्रस्ताव र पूर्वसभामुख ओनसरी घर्ती, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ तथा राजपा नेता लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका थिए ।

नेकपाले अगाडि सारेका सभामुखका उम्मेदवार सापकोटालाई कांग्रेसको मंलगबार बिहान बसको संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरेको थियो ।

संसद सचिवालयले सभामुख चयन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयनको समय राखेको थियो । त्यस्तै, अपराह्न साढे २ बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका राखेको थियो ।

सापकोटाबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि संसद सचिवालयले सभामुख पदमा एक जना सापकोटाको मात्रै उम्मेदवारी परेको बताएको छ । यससँगै आगामि १२ गतेको लागि तोकिएको निर्वाचन नहुने भएको छ । एकल उम्मेदवारी परेसँगै उनी स्वतः सभामुखमा निर्विरोध निर्वाचित हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्