अस्ट्रेलियामा शक्तिशाली आँधी, तीस हजार घरमा विद्युत लाइन अवरुद्ध



सिड्नी : मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ ।

मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए ।

मुख्यतया यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताउनु भएको छ ।

रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो ।

केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ ।

सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्