ओली-प्रचण्डलाई उपसभामुखले बोलेको त्यो वचन



काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा गरिन्।

त्यसपछि पत्रकारसामु आफ्ना विचार राखेकी उनले बीबीसीसँगको अन्तर्वार्तामा नेकपाका अध्यक्षद्वयसमक्ष आफूले राखेका धारणाबारे जानकारी गराएकी छन्।

अन्ततः उनले राजीनामा दिइन् र आफ्नो दाबी विपरीत सभामुख बन्ने अवसर पनि पाइनन्। किन ?

यो प्रश्नको उत्तरमा उनले अध्यक्षद्वयसँगको आफ्नो वार्तालापको प्रसङ्ग निकालिन्।

एकातिर थिए, सभामुख पनि नदिने र राजीनामा दिन सुझाव दिएको दल नेकपाका दुई अध्यक्ष। अर्कातिर थिइन्, सभामुखमा दाबी गरेकी र राजीनामा नदिने अडानमा रहेकी शिवमाया तुम्बाहाङ्फे।

पार्टी विधानको अवज्ञा
उनका अनुसार नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डसमक्ष उनले पार्टी विधानको अवज्ञा भएको विषय उठाइन्।

जवाफमा उनले आफ्नो बुझाइ सुनाइन्, ‘मैले नेताहरूसँग पनि भनेँ, हाम्रो संस्था अर्थात् नेकपाभित्र संविधान र ऐनले भनेको कुरा कार्यान्वयन भएको छैन।’ ‘महिलाको सहभागिता ३३ प्रतिशत हुने पार्टीको विधानमा पनि छ।’

उनले नेकपाको नौ सदस्यीय सचिवालयमा एकजना पनि महिला नभएकोलाई त्यसको उदाहरणको रूपमा पेस गरिन्।

उनले भनिन्, ‘त्यसैले पितृसत्ताले हुर्काएको, भरिएको दिमाग र सोच भएका नेताहरूलाई महिला उपसभामुखलाई अगाडि बढाउनु पर्छ भन्ने दिमागमा आएन।’ ‘एकजना मात्र महिला भइदिएको भए पनि कसैले कुरा उठाउनुहुन्थ्यो होला।’

‘पितृसत्तालाई नेताको मलजल’
अध्यक्षद्वयसँग उपसभामुखको हैसियले उनको अन्तिम कुराकानी त्यहीँ सकिँदैन।

दुई अध्यक्षलाई मैले भने, ‘राजसंस्था फाल्न एकदमै सहज भो, तपाईँ हामी सबै सँगै लाग्यौँ, सँगसँगै अघि बढ्यौँ।’ ‘तर हाम्रो पार्टीभित्र पितृसत्ता छ, यो संस्थागत रूपमा हुर्किएको छ।’

उनको असन्तुष्टि पोखिँदै गयो, ‘यो फाल्न त अझ कठिन रहेछ। यसलाई मलजल गरेर राख्ने त हाम्रै नेताहरू पो हुनुहुँदोरहेछ त।’

उनले त्यसविरुद्ध पार्टीभित्र रहेर लड्ने अठोट सुनाइन्। र, त्यसमा साथ दिन अध्यक्षद्वयलाई आग्रह समेत गरिन्।

तुम्बाहाङ्फेले सुनाइन्, ‘उहाँहरूले ठीकै हो भन्नुभयो।’

आफ्नो कार्यकाल पाँच वर्षको भए पनि ुनचाहेको घटनाको परिणाम स्वरुप दुई वर्षमा बाहिरिनु परेको उनको भनाइ छ।

अब खुला आकाशमा

उनी भन्छिन्, ‘तर मलाईँ खुशी लागेको छ। अहिले त खुला आकाशमा निस्किएर एकदम आनन्दले सास फेर्न पाएँ।’

अडान विपरीत राजीनामा दिन बाध्य हुँदा पनि खुशी लाग्नुको कारण के ? ‘किनकि पाँच वर्ष मैले उपसभामुख भएर काम गरेको भए त्यहीँ गुमनाम हुन्थेँ।’

अब तमाम नेपाली जनताको कुरा पार्टीको नेताको हैसियतले बोल्न पाउने अवस्थामा निस्किएको भन्दै उनले खुशीको हुनुको कारण सुनाइन्।

त्यसको अर्थ धेरैले अनुमान गरे जस्तो उनलाई अध्यक्षद्वयले मन्त्री बनाउने आश्वासन दिएका छन् कि ?

उनको छोटो जवाफ थियो, ‘केही भनेका छैनन्, के हुन्छ थाहा छैन। छलफल गर्नुपर्छ।’

बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्