वीरगन्ज भन्सार कार्यालयको सुरक्षामा कडाई



वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयले भन्सार चेकजाँचमा कडाई गरेको छ । पछिल्लो समय राजश्व छलिदेखि अवैधरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्ने समाचार सार्वजनिक हुन थालेपछि कार्यालयले कडाई गरेको हो । त्यस्तै राजश्व छलि हुँदा राजश्व असुलिमा समेत प्रभाव पर्न थालेपछि भन्सार कार्यालयले यस्ता गतिविधिमा कडाई गर्ने नीति लिएको छ ।

त्यसोत देशकै कुल राजश्व मध्ये वीरगन्जबाट मात्रै ४० देखि ४५ प्रतिशत राजश्व उठ्ने गरेको छ । बढी राजश्व उठ्ने भएकोले प्रमुख नाकाको रुपमा वीरगन्जलाई लिने गरेको छ यसमाथि सबैको निगरानी उतिकै रहेको देखिन्छ । यहाँबाट हुने राजश्व चुहावटदेखि लिएर नियन्त्रणसम्मको के कति कारणले राजश्व प्रभावित हुने गरेको छ भने विश्लेषण समेत विश्लेषकहरुले गर्ने गरेका छन् ।

पहिलेको अवस्था हेर्ने हो भने वीरगन्ज भन्सार कार्यालयको राजश्व तथा भन्सार गस्तीको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्मले चालु आर्थिक वर्षको माघको पहिलो साता भित्र चार करोडभन्दा बढीको मालसमान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइन्थो ।

सशस्त्र प्रहरीले आफ्नो मातहात पर्ने नाकाहरुबाट अवैध रुपमा भारतबाट चोरी निकासी गरेर ल्याएको मालसमान राजश्व चुहावट गरी वीरगन्ज भित्र्याउने क्रममा चालु आर्थिक वर्षको माघको पहिलो साताभित्र ४ करोड ७ लाखको समान पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।

अवैध रुपमा भन्सार छलि वीरगन्ज भित्र्याएको अवस्थामा २ करोड ४० लाखको सवारी साधन, ५४ लाखको लत्ताकपडा, २० लाखको हार्डवेयर, १७ लाख बराबरको किराना समान, ५३ हजारको तरकारी, ७ लाख ७६ हजार बराबरको मोटरपार्टस, श्रोत नखुलेको ३६ लाख ३३ हजार र चाँदीको गरगहना ३ लाख ५२ हजारको बरामद गरिएको छ ।

त्यसैगरी पशु चौपाया १७ लाख ३० हजार, मरिच ७६ हजार, औषधी २ लाख र भाडावर्तन १ लाख ९० हजार लगायतको कुल चार करोड ७ लाख बराबरको राजश्व चुहावट गरी भित्र्याएको मालसमान पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।

लागूऔषध ओसारपोसार तथा विभिन्न अपराधी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धीत निकायमा बुझाइएको उनले बताए । उनले लागूऔषध डाईजोल्याप ३ हजार ७०२ पिस, फेनारगन ३ हजार ४ सय पिस, नोर्फिन ३ हजार ५ सय पिस, विन सिरेक्स ४२ बोतल, ब्राउन सुगर २ ग्राम, नाईट्रोभेट ट्याब्लेट ४ सय ३० थान बरामद गरेको बताए ।

यसैगरी गत महिना नेपाल–भारत मैत्री बसमा अबैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार भुटानी र एक तिब्बती नागरिक समेत पक्राउ गरेर आवश्यक कारवाहीको लागि वीरगन्ज अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए । उनले भुटानी नागरिक ६५ वर्षीया डोलमा तामाङ्ग, ४३ वर्षीया छोदेन तामाङ्ग, १९ वर्षीया छुन्दु लह्मो, ७० वर्षीय ग्यान बहादुर तामाङ्ग र तिब्बती नागरिक ४० वर्षीया कुन्छोक तसोमोसँग पासपोर्ट नभेटिपछि पक्राउ गरेको थियो ।

मानव वेचविखनको आरोपमा दुईजनालाई पक्राउ गरी तीनजना युवतीको उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पर्साको, पर्सागढी नगरपालिका ३ का २१ वर्षीया मिना लामा, मन कुमारी लोलाई र वीरगन्ज १ छपकैयाकी २० वर्षीय सरिता धानुक उद्दार गरी २ मानव ओसार पोसार गर्ने मुस्तुफ देवान र अनिल तामाङ्गलाई पक्राउ गरी आवश्यक कारवहीको लागि नेपाल प्रहरीको जिम्मा लगाईएको उनले बताए ।

सिमा क्षेत्रमा अवैध रुपमा हुने अवैध निकासी पैठारी नियन्त्रणको लागि सशस्त्र प्रहरीले विशेष कार्ययोजना बनाएर अघि बढेको उनले बताए । उनले भने, तस्करी नियन्त्रणको लागि सम्भावित स्थानहरुमा २४ औँ घण्टा पिकेट डिउटी परिचालन गरेका छौं । स्थानियबाट आएको सूचना संकलन र विश्लेषण गरी प्रहरी खटाई नियन्त्रण गर्ने गरेको छौ, त्यसैगरी जिम्मेवार ईलाकाको विभिन्न स्थानमा पैदल तथा सवारी गस्ती गर्नुका साथै सरप्राईज चेक प्वाईन्ट खडा गरेर अवैध मालसमान नियन्त्रण गर्नुका साथै अपराधीक क्रियाकलामा संलग्न व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्