सीताले अध्ययन गरेको विद्यालय र ज्ञानकुप संरक्षणको पर्खाइमा



जनकपुरधाम : संस्कृत शिक्षाको थलोको रुपमा जनकपुरधाममा रहेको याज्ञवल्क्य संस्कृत विद्यालय अहिले आएर आधुनिक शिक्षाको केन्द्रको रुपमा विकसित हुँदै गइरहेको छ । कहिल्यै यही थलोमा माता जानकी गुरु शतानन्दबाट ज्ञान आर्जन गर्ने गर्थिन् । रामायणकालिन इतिहासभन्दा समेत प्राचिन यो थलोका रुपमा रहेको यो स्थल अहिले आएर विद्यालयस्तरमा प्राविधिक शिक्षाका लागि समेत चिनिन थालेको छ ।

त्यस्तै माता सीताले प्राचिन समयमा यही ज्ञान आर्जन गरेकी थिइन् । सो परिसरमा विद्या कुप र ज्ञानकुप समेत रहेको छ । विद्याकुपकोपानी खानाले विद्या बढ्ने र ज्ञानकुपको पानी खानाले ज्ञान बढ्ने जनश्रुती रहेको छ ।

संस्कृत शिक्षाको १ सय १० वर्ष पुरानो इतिहास बोकेको जनकपुरधाम ८मा रहेको याज्ञवल्क्य संस्कृत विद्यालयलाई २०७३ सालमा प्रविधि मैत्री बनाउँदा प्रधानाध्यापक संजयकुमार झा तथा तत्कालीन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनेकौं आरोप खेप्नु परेको थियो ।

तर, पछिल्लो चार वर्षको अभ्यासले व्यवस्थापन समितिको निर्णय सही सावित हुँदै गएको छ । विद्यार्थी संख्यामा उल्लेख्य वृद्धि भएको छ । संस्कृत शिक्षाप्रतिको रुचि पनि विद्यार्थीहरुमा बढेको छ  ।

विद्यालयमा देशभरीबाट संस्कृत शिक्षा आर्जनका लागि विद्यार्थीहरु यहाँ आउने गर्छन् । कहिल्यै ब्राह्मणले मात्रै अध्ययन गर्ने संस्कृत भाषा अहिले आएर हरेक वर्ग समुदायका बालबालिका संस्कृत अध्ययन गर्न थालेका छन् ।

प्रधानाध्यापक झाका अनुसार संस्कृत विद्यालय हुँदा बाहुन अतिरिक्तका बालबालिका विद्यालय भर्ना हुन आउँदैनथे । प्राविधिक शिक्षा शुरु भएपछि दलित, जनजाति तथा मुस्लिम विद्यार्थी पनि संस्कृत पढन थालेका छन् । २०७२ सालमा विद्यालयमा कुल १ सय ७३, २०७३ मा ३ सय २०, २०७४ मा ४ सय ४३, २०७५मा ८ सय, चालु आर्थिक वर्षमा विद्यार्थी भर्ना हुनेहरुको संख्या १ हजार नाघेको प्रधानाध्यापक झाले जानकारी गराए ।

वि.सं १९६६ सालदेखि जनकपुरधाम ८ ज्ञानकूपमा सञ्चालित यस विद्यालयमा प्राविधिक विषय थपिएपछि संस्कृत शिक्षा नै धुमिल हुने चिन्ता कतिपयलाई थियो । यद्यपि संस्कृत शिक्षाप्रति विद्यार्थीहरुको झनै चाहना बढेको देखिएको छ ।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा नेहा झाले आफ्नो घरमा कोही संस्कृत शिक्षा आर्जन नगरेको भएपनि आफूलाई संस्कृत शिक्षा आर्जन गर्ने ईच्छा जागृत भएकोले यही विद्यालयमा अध्ययन गरिरहेको बताइन् ।

कक्षा ७ अध्ययनरत छात्र भिषण ढकाल खोटांगबाट संस्कृत शिक्षा आर्जन गर्नका लागि यहाँ आएका छन् । उनले पूजा गाउने पण्डितहरुको अभाव भएको देखेर आफू यहाँ संस्कृत शिक्षा आर्जन गर्नका लागि आएको बताए ।

विद्यालयमा अहिले छात्रवासमा ६५ बटुक देशभरी र भारतका केही बटुकहरु संस्कृत शिक्षा आर्जन गरिरहेका छन् । पहिले पूर्ण रुपमा संस्कृत पढाई हुने सो विद्यालयमा अहिले आएर साधारण तर्फको तथा प्राविधिक शिक्षामा समेत पढाई भइरहेको छ ।

२०३३ सालमा साधारणतर्फको प्राथमिक विद्यालय सञ्चालन गरेपछि थोर बहुत विद्यार्थी बढे । प्राविधिक शिक्षा शुरु गरेपछि विद्यार्थी संख्या ह्वातै बढेको छ प्रधानाध्यापक झाले बताए ।

स्थापनाकालदेखि नै वेद, व्याकरण, न्याय, दर्शन, साहित्य, ज्योतिषआदि विषयको अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयको स्थापना भने तीन फरक–फरक धारका असंगठित विद्यालयलाई समायोजन गरेर अवधविहारी शरण अर्थात मौनी बाबाले गराएका थिए ।

मौनीबाबाले तत्कालीन समयमा झुलाघरमा सञ्चालित राष्ट्रिय संस्कृत पाठशाला, ब्रहमचारी आश्रममा सञ्चालित वेदवेदान्त विद्यालय तथा विस १८८५ सालदेखि नै लक्ष्मण मन्दिरमा सञ्चालित कर्मकाण्ड विद्यालय एउटै छातामुनि ल्याएर याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय स्थापना गरेका थिए ।

स्थापना कालदेखि नै राष्ट्रिय संस्कृत विद्यालयका ५४ तथा वेदवेदान्त पाठशालाका ११ गरी कुल ६५ बटुकलाई आवासीय शिक्षा दिने प्रावधान छ ।

पहिले आचार्यसम्मको पठन पाठन हुँदै आएको याज्ञवल्क्य संस्कृत विद्यालयलाई तत्कालीन राजा महेन्द्रले मध्यमास्तरमा झार्न लगाएको प्रधानाध्यापक झाले बताए । वि.सं. २०१९ सालमा जनकपुरधाम भ्रमणमा आएको बेला राजा महेन्द्रमाथि जानकी मन्दिर परिसरमा बम प्रहार गरिएको थियो । राजा महेन्द्रले आफूमाथि बम प्रहार गर्नेहरू याज्ञवल्क्य संस्कृत विद्यालयका छात्र रहेको आशंकामा आर्चायको पठन–पाठन महोत्तरीको मटिहानीस्थित लक्ष्मी नारायण संस्कृत विद्यालयमा सार्न लगाएका थिए । अहिले पनि मटिहानी संस्कृत महाविद्यालयको नामको अगाडि याज्ञवल्क्य जोडिनुको कारण यही रहेको प्रधानाध्यापक झाले बताए ।

उनका अनुसार विद्यालयमा माध्यमिक तहका विद्यार्थीले नेपाली, अंग्रेजी, गणित, विज्ञान , सामाजिक शिक्षा र संस्कृत साहित्य अनिवार्य विषयका रूपमा पढनुपर्छ भने ऐच्छिक विषयका रूपमा ज्योतिष, साहित्य र व्याकरणमध्ये एक विषय रोज्न पाउँछन् । ऐच्छिक विषयमा भने कर्मकाण्ड र कम्युटरमध्ये एक रोज्न पाउँछन् ।

सो विद्यालयको प्रमुख आकर्षणको केन्द्रको रुपमा त्यहाँ रहेको प्राचिन कालका ३ कुपहरु रहेका छन् । विद्यालय परिसरमा शतानन्द कुप, ज्ञानकुप र विद्याकुप रहेका छन् । शतानन्द कुप राजर्षि जनकका गुरु शतानन्दको नाममा रहेको छ ।

यो स्थल धार्मिक स्थलको रुपमा समेत अति नै महत्वपूर्ण रहेको छ । विद्यालय परिसर रहेको स्थललाई याज्ञवल्क्यको तपोभूमिको रुपमा समेत लिइने गरिन्छ । याज्ञवल्क्यको वेदको ज्ञान हराएपछि यही सूर्योपासना गरेर यजुर्वेदको पुनःप्राप्ति गरेको मिथिला महात्ममा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्