होसियार ! हिटर बालेर सुत्दा ज्यानै जाला



काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर नेपाल आएका ८ भारतीय पर्यटकको मृत्यु हुन पुगेको छ । उनीहरु बस रिजर्भ गरेर त्यहा पुगे । तर, उनीहरुको घुम्ने योजना पूरा हुन सकेनन् । त्यति मात्र हैन उनीहरुले संसार नै छोड्नु पर्यो । कारण थियो, हिटर । बालबच्चासहित नेपाल घुम्न आएका उनीहरु बच्चाहरुलाई चिसोबाट बचाउछु भनेर हिटर बाले र झ्याल ढोका बन्द गरेर ८ जना एउटै कोठामा सुते । तर, बिहान उनीहरु मृत भेटिए । यसरी हिटरका कारण ज्यान गुमाएको यो घटना पहिलो भने होइन् । करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठले हिटरबाट सल्केको आगोको लप्कामा परी ज्यान गुमाएका थिए ।

त्यसैगरी ४ वर्ष पहिले कोठाभित्र धुवाँले निस्सासिएर पोखरामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । यति मात्र हैन । यहि मंसिरमा कीर्तिपुर नगरपालिका–८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भयो । उनीहरुले राति कोठा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका थिए । यिनिहरु त केहि प्रतिनिधी पात्र मात्र हुन् । हिटरकै कारण वर्षेनी नेपालमा कयौं मानिसले अकालमा ज्यान गुमाइरहेका छन् भने कति घाइते भएर जीवन बिताइरहेका छन् ।

जाडोमा हिटर ताप्नै पर्ने हुन्छ । यसले हामीलाई जाडोबाट जोगाउछ । जाडोबाट जोगिन हामी हिटर बालेर जति आनन्द लिन्छौ हामीले त्यति नै ध्यान पुर्याउनुपर्छ ।

हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस् :-

–हिटरबाट उत्पन्न हुने कार्बन मानोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन ।

–हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई बन्द गर्न आवश्यक छ । राति सुत्नेबेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ ।

–नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।

–बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वास जस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।

–पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।

– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्