सुपर क्रिकेट लिग : लुम्बिनी खुकुरी क्लब विजयी



भैरहवा : रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत आज (मंगलबार) सम्पन्न गु्रप ए अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलमा लुम्बिनी खुकुरीले बुद्ध स्पोटर्स क्लब भैरहवालाई २२८ रनले पराजित गरेको हो ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको लुम्बिनी खुकुरीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रनको योगफल बनायो । उसका लागि शंकर रानाले १४८, प्रज्जवल थापाले ७४, निश्चल चौधरीले ३२ र मान बहादुर थापाले २४ रनको योगदान गरे ।

बलिङमा बुद्धका विपिन खत्रीले ३, रिजन प्रजुले २ र रुपेश कुर्मीले १ विकेट लिए । जवाफमा बुद्धले ४२ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२० रन बनायो । उसका लागि अमित अग्रहरीले ३७, समिर हुसेनले २२ र सुरज गुरुङले १८ रन बनाए ।

बलिङमा लुम्बिनी खुकुरीका अन्तिम थापा र अजय कुमार लोनियाले २÷२ तथा लाल बहादुर अधिकारी, साहब आलम र मान बहादुर थापाले १/१ विकेट लिए । खेलमा लुम्बिनी खुकरी क्लबका शंकर राना म्यान अफ द म्याच घोषित भए ।

बुधबार गु्रप सी अन्तर्गतको खेल देवदह क्रिकेट युनिट देवदह र लुम्बिनी जितगढी क्रिकेट क्लब बेलबासबीच हुनेछ । नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्