औलो जोखिम बढेपछि सीमा क्षेत्रमा हेल्प डेस्क



कैलाली : भारतको बरेलीमा औलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा सतर्कता अपनाइएको छ । कैलाली र कञ्चनपुर क्षेत्र भारतीय सीमा नजिक भएकाले औलोको जोखिम बढ्ने देखिएपछि स्वास्थ्यकर्मीहरुले स्थानीयहरुलाई सचेत रहन आग्रह गरेका छन्।

 

शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आकस्मिक बैठक बसेर जिल्लाको सीमा नजिक ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । कैलालीको धनगढीस्थित गौरीफन्टा नाका र टीकापुरको खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डा चौकीमा ‘हेल्थ डेस्क’ राखिने छ ।

 

‘ यस्तै, बैठकले रोगलाई फैलन नदिन लक्षण देखिएका व्यक्तिहरुलाई उपचारको पहुँचमा ल्याउने, स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने, बढी भिड रहेका क्षेत्रमा जनचेतनामुलक पर्चा–पम्पलेट वितरण गर्ने लगायतका निर्णय गरेको छ ।

 

प्रदेश स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीले औलोको जोखिम बढ्न नदिन सबै स्वास्थ्यकर्मीहरुलाई सतर्क रहन आग्रह गरे । ‘हेल्थ डेस्क’मा भारतबाट नेपाल आउने नेपालीहरुको रगत परीक्षण गरी औलो भएको र नभएको पहिचान गरिने र यदि कसैमा औलो देखिए हेल्थ डेस्कमै औषधी उपचार गरेर पठाइने उनले जानकारी दिए ।

 

‘अहिले भारतको वरेलीमा देखिएको प्लाज्मोडियम फाल्सिपेरम औलो यस प्रदेशमा प्रवेश भएमा नियन्त्रण गर्न चुनौती देखिने छ’, उनले भने, ‘यसको नियन्त्रणका लागि विशेष त सीमा क्षेत्रमै रोगको पहिचान गरी नियन्त्रण गर्न सक्नुपर्छ।’ उनले यो रोग लामखुट्टेबाट सर्ने भएकाले सबै स्थानीयहरु सचेत हुनुपर्ने बताए ।

 

घर-आँगन सफा राख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे भगाउन धुपको प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्न स्थानीयसँग आग्रह गरे । उनले यदि औलोका कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकीमा गएर रगत परिक्षण गर्न पनि आग्रह गरे ।

 

कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौ र असोजमा मात्र बरेलीबाट आएका ९ जना औलोका बिरामी फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्