वीरगन्ज भंसार कार्यालयको सुरक्षा कडा, ४ करोडको अवैध मालसामान बरामद



वीरगन्ज : नेपालकै आर्थिक नगरीको रुपमा परिचित छ वीरगन्ज । देशकै कुल राजश्वमध्ये वीरगन्जबाट मात्रै ४० देखि ४५ प्रतिशत राजश्व उठ्ने गरेको छ । बढी राजश्व उठ्ने भएकोले प्रमुख नाकाको रुपमा वीरगन्जलाई लिने गरिन्छ । यसमाथि सबैको निगरानी उत्तिकै रहेको देखिन्छ ।

पहिलो अवस्था हेर्ने हो भने, वीरगन्ज भंसार कार्यालयको राजश्व तथा भंसार गस्तीको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्मले चालू आर्थिक बर्षको माघको पहिलो साताभित्र चार करोडभन्दा बढीको मालसमान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भंसार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीले आफ्नो मातहात पर्ने नाकाहरुबाट अवैध रुपमा भारतबाट चोरी निकासी गरेर ल्याएको मालसमान राजश्व चुहावट गरी वीरगन्ज भित्र्याउँने क्रममा चालू आर्थिक बर्षको माघको पहिलो साताभित्र ४ करोड ७ लाखको समान पक्राउ गरी भंसार कार्यालयमा दाखिला गरेको जनाएको छ ।

अवैध रुपमा भंसार छली वीरगन्ज भित्रियाएको अवस्थामा २ करोड ४० लाखको सवारी साधन, ५४ लाखको लत्ताकपडा, २० लाखको हार्डवेयर, १७ लाख बराबरको किराना समान, ५३ हजारको तरकारी, ७ लाख ७६ हजार बराबरको मोटरपार्टस, श्रोत नखुलेको ३६ लाख ३३ हजार रुपैयाँ र चाँदीको गरगहना ३ लाख ५२ हजारको बरामद गरिएको छ ।

त्यसैगरी, पशु चौपाया १७ लाख ३० हजार, मरिच ७६ हजार, औषधी २ लाख र भाडावर्तन १ लाख ९० हजार लगायतको कुल चार करोड ७ लाख बराबरको राजश्व चुहावट गरी भित्रियाएको मालसमान पक्राउ गरी आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले बताए ।

लागूऔषध ओसार पोसार तथा विभिन्न अपराधी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धीत निकायमा बुझाईएको उनले बताए । उनले भने, लागूऔषध डाईजोल्याप ३ हजार ७०२ पिस, फेनारगन ३ हजार ४ सय पिस, नोर्फिन ३ हजार ५ सय पिस, विन सिरेक्स ४२ बोतल, ब्राउन सुगर २ ग्राम, नाईट्रोभेट ट्याब्लेट ४ सय ३० थान बरामद गरिएको छ ।

नेपाल–भारत मैत्री बसमा अबैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार भुटानी र एक तिब्बती नागरिक समेत पक्राउ गरेर आवश्यक कारवाहीको लागि वीरगन्ज अध्यागमन कार्यालयको जिम्मा लगाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीले बताए । उनले भने, भुटानी नागरिक ६५ वर्षीया डोलमा तामाङ्ग, ४३ वर्षीया छोदेन तामाङ्ग, १९ वर्षीया छुन्दु लह्मो, ७० वर्षीय ग्यान बहादुर तामाङ्ग र तिब्बती नागरिक ४० वर्षीया कुन्छोक तसोमोसंग पासपोर्ट नभेटिपछि पक्राउ गरेका थियो ।

मानव वेचविखनको आरोपमा दुईजनालाई पक्राउ गरी तीनजना युवतीको उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पर्साको, पर्सागढी नगरपालिका ३ का २१ बर्षिय मिना लामा, मन कुमारी लोलाई र वीरगन्ज १ छपकैयाकी २० बर्षिय सरिता धानुक उद्दार गरी २ मानव ओसार पोसार गर्ने मुस्तुफ देवान र अनिल तामाङ्गलाई पक्राउ गरी आवश्यक कारवहीको लागि नेपाल प्रहरीको जिम्मा लगाईएको उनले बताए ।

सिमा क्षेत्रमा अवैध रुपमा हुने अवैध निकासी पैठारी नियन्त्रणको लागि सशस्त्र प्रहरीले विशेष कार्ययोजना बनाएर अघि बढेको उनले बताए । उनले भने, तस्करी नियन्त्रणको लागि सम्भावित स्थानहरुमा २४ औं घण्टा पिकेट डिउटी परिचालन गरेका छौं । स्थानियबाट आएको सूचना संकलन र विश्लेषण गरी प्रहरी खटाई नियन्त्रण गर्ने गरेको छौ, त्यसैगरी जिम्मेवार ईलाकाको विभिन्न स्थानमा पैदल तथा सवारी गस्ती गर्नुका साथै सरप्राईज चेक प्वाईन्ट खडा गरेर अवैध मालसमान नियन्त्रण गर्नुका साथै अपराधीक क्रियाकलामा संलग्न व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्