अभियन्ता दिलीपको १३ औं दिनको पूण्यतिथिमा बृक्षारोपण



जनकपुरधाम : गत पुस २५ गते हत्या गरिएका अवैध उत्खनन विरुद्धका अभियन्ता स्व.दिलिप महतोको १३ औं दिनको पूण्यतिथिमा आज (मंगलबार) ३ बिग्हा क्षेत्रफलमा बृक्षारोपन गरिएको छ ।

मृत्युपश्चात अन्तिम दिनमा भोज भतेर गर्ने परम्परालाई तोड्दै महतोको पूण्यतिथीलाई समाजमा एक उदाहरणको रुपमा चिनाउन बृक्षारोपन गरिएको हो ।

पर्यावरण जोगाउन आफ्नो ज्यानको आहुति दिएका दिलिप महतोको स्मरण र योगदान सँधैभरि जिवित रहोस भन्ने धारणाले मिथिला नगरपालिका–५ मा रहेको औरहीबाबा सामुदायीक वनको ३ बिग्हा क्षेत्रफलमा बिभिन्न प्रजातिका एक हजार बिरुवाहरु रोपिएको छ ।

बृक्षारोपन कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव लगायत सयौं जनाको सहभागिता रहेको थियो । बृक्षारोपन पश्चात महतोको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पूर्व राष्ट्रपति डा.यादवले चुरे फँडानी तथा अवैध दोहनविरुद्ध सचेत युवा र तिनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

सरकारले पटक–पटक विकासको नाममा जंगल मासेर राजमार्ग विस्तार गर्न लागेकोमा उनले आपत्ति समेत जनाए । ‘सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा दिएको छ । तर, वन मासेर पानी तल जाँदैछ । पानी अभावले खेतीपाती कम भएको छ । उत्पादन घटेको छ, खानै पाएन भने कसरी सुखी हुन सकिन्छ,’ उनले प्रश्न गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले दिलीपको हत्याले समाजलाई ठूलो क्षति भएको बताउँदै सरकारले दोषीलाई तुरन्त पहिचान गरी कारबाही पक्रिया अघि बढाउनुपर्ने बताए । श्रद्धाञ्जली सभामा समाजवादी पार्टीका उपनेता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरण बचाउन सबै जनाले आ–आफ्नो तर्फबाट योगदान दिन आवश्यक रहेको बताए ।

यसैबीच,पूर्व राष्ट्रपति डा.यादवले अवैध उत्खनन विरुद्धका अभियन्ता स्व.दिलिप महतोको १३ औं दिनको पूण्यतिथीको उपलक्ष्यमा उनको घर पुगेर श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । पूर्व राष्ट्रपति डा.यादव लगायत अन्य विशिष्ट व्यक्तित्वहरु महतोको घर पुगी परिवारजनसंग भेट गर्नुका साथै सम्वेदना प्रकट गरेका छन् ।

स्व.दिलिपको नाममा प्रतिष्ठान स्थापना
स्व.दिलिपको नाममा सहिद ओमप्रकाश पर्यावरण संरक्षण प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा संगम महतो रहेका छन् भने सदस्यहरुमा पशुपति महतो,लक्ष्मी कुमारी महतो,सुरेन्द्र महतो र बिरेन्द्र महतो छन् । त्यस्तै सल्लाहकार परिषदमा प्रदेशसभा सदस्य रामअशिष यादव,सुरेश शर्मा,सोम प्रसाद शर्मा,राजकरण महतो र महेन्द्र महतो लगायतकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्