लालपुर्जा पाउँदा पनि पत्याउनै कठिन



कञ्चनपुर : सानो झुपडीमा जीवनका ५२ वर्ष गुजार्नुभएका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ । अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँच्नुभएका सार्कीलाई हातमा लालपुर्जा पर्दा पत्याउन गाह्रो भयो ।

घरजग्गाविहीन भएर जीवनभर अर्काको हलो जोतेर भोगेको पीडा उहाँले आफ्नै घरमा बिसाउन पाउनुभएको छ । उहाँले घर मिल्यो, सुख भयो । पहिलाभन्दा धेरै राम्रो छ, हलिया हुँदा दबाब थियो, त्यहाँबाट छुटकारा भएर यहाँ आउँदा ठीक लागेको छ भन्नुभयो ।

उहाँले डडेलधुराको डोटीबटाल गाउँमा दैनिक एक माना चामलका भरमा २० वर्ष हलो जोत्नुभएको थियो । पुस्तौँदेखि उहाँका बुबा र बाजे सबैले हलो जोत्नुभएको थियो । हँसिलो चेहरामा उहाँले लालपुर्जा हातमा पर्दा निकै खुसी लाग्यो । धेरै धन्यवाद दिन मन लागेको छ भन्नुभयो । उहाँको थप अपेक्षा छ, सरकारले बास दियो अब गासको समस्या पनि समाधान गरिदेओस् ।

सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को बागफाँटामा एकीकृत बस्ती निर्माण गरी मुक्त हलियाको पुनस्र्थापना गर्दा बस्तीमा खुसी छाएको छ । घरजग्गाविहीन हलिया परिवार आफ्नै घरमा बस्न पाउँदा निकै खुसी देखिन्थे । बस्ती हस्तान्तरणको औपचारिक समारोहमा पुग्दा ललिता लोहारको परिवारमा पनि विशेष खुसी छाएको थियो । उहाँले खुसी व्यक्त गर्दै बस्ने बास भयो, खानेपानी र ट्वाइलेट भएको छ । हलिया हुँदाखेरी त जिन्दगी बिजोग थियो भन्नुभयो ।

एउटा कोठा मात्र भएको जस्ताको झुपडी चार जनाको परिवारले गुजारा गर्नुपरेको तीतो यथार्थ पोख्दै उहाँले पहिला एउटै कोठामा डल्लो पर्नुपथ्र्यो । अहिले त राम्रो छ, केटाकेटीले खेल्ने ठाउँ पाएका छन् भन्नुभयो ।

उहाँसँग अहिले तीन कोठाको घर, आँगन, खानेपानी र शौचालयसमेत छ । उहाँले दुईवटा कोठामा पलङ राख्नुभएको छ । पलङमा पलङपोस हालेर ओछ्यान चिटिक्क मिलाउनुभएको छ । घर सफा छ, दुईवटा साना छोरा आँगनमा उफ्रिदै खेलिरहेका थिए, उहाँ दङ्ग हुनुहुन्थ्यो । एउटा कोठामा गुजुल्टिएको विगत भुलेर खुसीसाथ छुट्टै स्ल्याब राखेको भान्सामा पकाउँदा घर अझ सफा भएको छ ।

सात दशकमा टेक्नुभएका लालमनी सार्कीले पनि पहिलोपटक आफ्नो घरमा बास पाउनुभएको छ । उहाँले हलिया हुँदाको दुःख पोख्दै उठ् भने उठ्ने बस् भने बस्ने, त्यति बेलाको दुःख बयान गर्न सक्दिन । हामीलाई गुलाम, गोरु र ग्वाला भन्थे भन्नुभयो । छ जनाको परिवारको निकै दुःखकष्टसँग गुजारा गर्नुभएका उहाँलाई अहिले सुख पाएको अनुभव भएको छ । उहाँले अहिले धेरै सुविस्ता छ हजुर, म त खुसी छु । हात जोड्दो छु सरकारले सहयोग गर्दैछ, हाम्लाई धेरै राम्रो छ हजुर, भन्नुभयो । हलिया बस्तीमा पुनस्र्थापना हुने अधिकांश दलित परिवार रहेका छन् ।

सरकारले गत वर्ष नै कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिया परिवारको पुनस्र्थापना गरेको थियो । बागफाँटामा ३२ परिवारका लागि बस्ती निर्माण गरिएको हो । गत वर्ष निर्माण गरिएको बस्तीलाई शनिबार हस्तान्तरण गरियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बस्ती हस्तान्तरण गर्नुभएको हो ।

तीन कोठाको घरमा एउटा भान्सा र दुईवटा कोठा रहेका छन् । प्रत्येक घरमा एउटा शौचालय बनाइएको छ । २० फुटको बाटो वरिपरि नालासहित बस्ती निर्माण गरिएको छ । बस्तीका प्रत्येक घर १० धुर जग्गामा निर्माण गरिएका छन् । जग्गासहित प्रतिघर जम्मा चार लाख २५ हजार रुपियाँ लगानी लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा मात्र दुई हजार सात सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा दुई हजार पाँच सयको पहिचान भएको थियो ।

हलियाको तथ्याङ्क सङ्कलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनः पहिचान गरी अझै पनि छुट्न गएकालाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । जोशीले बासको व्यवस्थापछि मुक्त हलिया र कमैयालाई केन्द्रित गरी गरिबी निवारणका प्याकेज कार्यक्रम लगिने बताउनुभयो । उहाँले सीप सिकाउँदै उनीहरूलाई उद्यमशील बनाइने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा सविता शर्मामा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्