धौलागिरि गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड सुरु



म्याग्दी : पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका ७ सिवाङस्थित हेम माध्यमिक विद्यालयमा बिहीबार अन्तरमाध्यमिक छात्रछात्रा प्रथम राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।

धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालय सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटनमा टेवा मिल्ने बताए ।

 

विद्यालय स्तरका खेल प्रतिभा पहिचान गरी प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्न सहयोग मिल्ने उनको भनाइ थियो ।  कार्यक्रममा प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले खेलकुदको विकासले विद्यार्थीमा अनुशासन कायम हुने, टिमवर्कको विकास र कुलतबाट बच्न सहयोग मिल्ने बताए ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, दौड, कबड्डी र एथलेटिक्सतर्फ छात्रछात्राका विभिन्न १५ वटा विधाका खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई रनिङ सिल्ड, कप र मेडलसहित क्रमश: ४५ हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।

पालिका स्तरबाट छनोट हुने खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी बन्ने अवसर दिइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । 

यसअघिका वर्षमा जिल्लास्तरमा मात्र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई एक लाख रुपैयाँ पठाएको छ ।

 

धौलागिरि गाउँपालिकाले थप ६ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले र प्रतियोगितालाई निरन्तरता दिने बताइन् । विद्यालय स्तरका विद्यार्थीको खेल क्षमताको विकास गर्न गाउँपालिकाले खेलकुद आयोजना गरेको उनको भनाइ थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाली कांग्रेसका प्रतिनिधि तेजेन्द्रबहादुर थापा, गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतियोगिताको पहिलो दिन पन्ध्र सय मिटरको छात्रतर्फको दौडमा हेम माविका श्याम छन्त्याल पहिलो, धनजनता मावि मुनाका भुवन मल्ल दोस्रो र किसानी मावि धारापानीका शिखर थापा तेस्रो भएका छन् ।

 

छात्रातर्फ हेम मावि सिवाङकी रीता भण्डारी पहिलो, धनजनता मावि मुनाकी सविना मल्ल दोस्रो र जनकल्याण मावि गुर्जाकी शुसिला विक तेस्रो भएका छ । विजेता विद्यार्थीलाई प्रजिअ अधिकारी, प्रहरी नायब उपरीक्षक बुढामगर र खेलकुद विकास समितिका अध्यक्ष विकले मेडल प्रदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्