राष्ट्रिय सभा निर्वाचन : राजनीतिले तात्दै बर्दिवास



महोत्तरी : एकाबिहानै उठ्दा बाक्लो हुस्सुले छपक्कै छोपेको हुन्छ । सिरेटोले लगलगी मुटु कमाउँदो छ तर आसन्न राष्ट्रियसभा निर्वाचनले महोत्तरीको बर्दिवास नगरमा राजनीतिक तापमान भने ह्वात्तै बढाएको छ । प्रदेश नं २ मा चार सदस्य पदका लागि बिहीबार हुने निर्वाचनको तयारीमा दलहरु बर्दिवास केन्द्रित भएका छन् । नेकपा–राजपा र नेका–समाजवादी पार्टी गरी दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने चुनावका अधिकांश मतदाता अहिले बर्दिवासमा छन् ।

बर्दिवास प्रदेश नं २ को करिब मध्यमा पर्ने र बीपी राजमार्गबाट सोझै काठमाडौँसँग जोडिने भएकाले चुनावी समन्वयका लागि उपयुक्त थलो भएको दल र उम्मेदवारहरुको भनाइ छ । “प्रदेशभरिको प्रचार समन्वय गर्न र काठमाडौँ आउन जान सजिलो भएकाले चुनावमा बर्दिवास केन्द्रित भएका हौँ”, मङ्गलबार बर्दिवासमा भेटिनु भएका अपाङ्ग तथा अल्पसङ्ख्यक समूहबाट नेकपा–राजपा गठबन्धनका उम्मेदवार राजपा नेता शेखरकुमार सिंहले भने, “अनि नेता, कार्यकर्ता एवं मतदाताको सुरक्षित बसोबास पनि यहाँ सजिलो लाग्यो ।”

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयनपत्र दाखिला गरेपछि दुवै गठबन्धनले बर्दिवासमा प्रदेशस्तरीय बैठक, परिचयात्मक कार्यक्रम र चुनावी प्रशिक्षणसहितका कार्यक्रम सम्पन्न गरेका छन् । आसन्न निर्वाचनका लागि नेकपा–राजपासम्बन्धित प्रदेशसभा सदस्य र स्थानीयतहका प्रमुख⁄उपप्रमुख तथा अध्यक्ष⁄उपाध्यक्ष (राष्ट्रियसभा निर्वाचनका मतदाता) बर्दिवासका होटलमा भरिएका छन् ।

आसन्न चुनावको क्रममा दुवै गठबन्धनका नेता, उम्मेदवार र मतदाताको बाक्लो आवतजावत भएपछि बर्दिवासका चोकचोकमा चुनावी परिणामबारे आकलन र तयारीबारेको बाक्लो टीकाटिप्पणी सुन्ने गरिएको छ । चुनावी तयारीबारे समन्वयको मुख्य थलो भएपछि बर्दिवासका होटल व्यवसायी उत्साहित देखिएका छन् ।

“अहिले राष्ट्रियसभा निर्वाचनले बर्दिवासको महत्व बढाएको छ”, बर्दिवासस्थित होटल विनायकका प्रबन्ध व्यवस्थापक सुजन आचार्यले भने, “मुख्य कुरा प्रदेशभरिकै वरिष्ठ नेता, प्रदेशसभा सदस्य र स्थानीयतहका जनप्रतिनिधिलाई आतिथ्यता दिन पाएका छौँ, यसले उत्साहित बनाएको छ ।”

चुनावमा आ–आफ्नो पक्षका मतदातासँग भेटघाट, संवाद र आवश्यक कामको समन्वयका लागि प्रदेश नं २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पनि बर्दिवास आउने जाने क्रम जारी छ । पछिल्लो एक साताभित्र प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेका–समाजवादी पार्टीको गठबन्धन भेलामा सरिक पनि भइसकेका छन् ।

विगतमा मधेश आन्दोलनताका बर्दिवास बन्द नहुँदा त्यतिखेरका आन्दोलनकारीको निशानामा रहेको बर्दिवासमा अहिले तिनैको जमघट बढेको छ । अहिलेको चुनावको समीकरणले त्यतिखेरका आन्दोलनकारी र मूलधारका मुख्य राजनीतिक दलबीच गठबन्धन हुँदा विगतको मनोमालिन्य पखाल्न राम्रो अवसर बर्दिवासले पाएको यहाँका बासिन्दा बताउँछन् ।

ससाना चियापसलदेखि यहाँका सबैजसो होटल, चोकपरिसर र सभाहल दिनहुँ चुनाव केन्द्रित कार्यक्रमले भरिभराउ देखिन्छन् । चुनावले आफ्नो ठाउँमा बढाएको चहलपहलले बर्दिवासवासी उत्साहित छन् । “प्रदेशभरिकै मुख्य भूमिकामा रहेका नेता र जनप्रतिनिधिको बर्दिवास आवतजावत बाक्लिँदा यस ठाउँको विकासको सम्भावना फराकिलो हुने विश्वास छ”, बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चूडामणि पोखरेलले भने, “हामीलाई यो कुराले उत्साहित बनाएको छ ।”

राजनीतिक जमघट बढ्दा यहाँको चहलपहल निकै बढेसँगै सडकमा सर्वसाधारणको हिँडडुलमा भने सकस बढेको छ । मुख्यचोक वरिपरि प्रदेशभरकै नेता र जनप्रतिनिधिका सवारी साधनको पार्किङ र आवतजावत बढेपछि सडक काट्न र सडक पेटीमा हिँड्नै पनि ठाउँ नपाइएको पैदल यात्रुले गुनासो गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्