गिर्वाणयुद्धकालीन ‘बूढो पोखरी’ मर्मतपछि चिटिक्कै



म्याग्दी : धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानवनिर्मित ‘बूढो पोखरी’ मर्मत–सम्भार गरेर स्थानीयले चिटिक्क बनाएका छन् ।

 म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताबिक सो पोखरी निर्माण गरेको उनका सातौं पुस्ताका सन्तती चिरञ्जीवी बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार त्यति बेला रत्नेचौरामा पानीको हाहाकार थियो । गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने, सरसफाइ गर्ने र पशु चौपायालाई खुवाउने गर्नुपर्दा स्थानीय आजित थिए ।

 

स्व. वसन्त बोगटीले यो कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरिएको थियो । ठूलो संख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । अहिले रत्नेचौर ‘कृषि गाउँ’ का रुपमा समेत चर्चित छ ।

करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैंचा विस्तार गर्न ७ रोपनी जग्गा छ । ढोडेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले नयाँ स्वरुपमा मर्मत सम्भार गरिएको छ । पोखरीको पानी स्थानीयले प्रयोग गर्ने गरेका छन् । संरक्षण नभएपछि सो पोखरी संकटमा परेको थियो ।

 

गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट ५० हजार र साविकको जिल्ला भूसंरक्षण कार्यालयबाट ५० हजार रुपैयाँ सहयोग भएको थियो । त्यसैगरी स्थानीयले करिब ६० हजारको जनश्रमदान गरी मर्मत सम्भार गरेपछि अहिले बूढो पोखरी चिटिक्क परेको छ । पोखरी हेर्न टाढाटाढाबाट समेत मानिस आउने गरेको बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकवहादुर रावलले बताए । 

पोखरीको संरक्षण गरेपछि सिँचाइका साथै पर्यटकीय गन्तव्य बनाउन पहल सुरु भएको छ । चालु आर्थिक वर्षमा पनि नगरपालिकाले पोखरी मर्मतका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही बजेटबाट बाँकी पूर्वाधारका काम गरिने र बूढो पोखरीलाई आकर्षक पर्यटकीय स्थल बनाउने अभियानमा स्थानीय लागेका वडाअध्यक्ष रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्