नेकपाले राजपालाई उपसभामुख दिने भएपछि चौधरी, अग्रहरी र मण्डलको नाम चर्चामा



काठमाडौं : सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट अघि सारिएका अग्नीप्रसाद सापकोटा निर्विरोध चयन भएपछि उपसभामुख को बन्ला भन्ने चर्चा शुरु भएको छ । सभामुख उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख पद आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । तर, सत्तारुढ दल नेकपा भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई दिने तयारीमा छ ।

यस विषयमा नेकपा र राजपाका नेताहरुबीच आन्तरिक सहमति पनि भएको बताईन्छ । राष्ट्रियसभा निर्वाचन प्रदेश नम्बर २ मा चुनावी गठबन्धन गरेका नेकपा–राजपाबीच उपसभामुखका बिषयमा निर्णयक वार्ता नभएपनि छलफल भने भित्रभित्रै चलिरहेको छ । सभामुखको घोषणा आगामी १२ गते हुने र भोली (बिहीबार) राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएकोले त्यसपछि मात्रै औपचारिक वार्ता शुरु हुने बताईन्छ ।

नेकपा बरिष्ठ नेता झलनाथ खनालले उपसभामुख पद राजपालाई दिने विषयमा नेकपा सकारात्मक रहेको उल्लेख गर्दै केही दिनमै यसबारे छिनोफानो हुने बताए । राजपा नेता राजेन्द्र महतोले उपसभामुखका विषयमा अहिलेसम्म टुङ्गो नलागिसकेको जानकारी दिदै नेकपाले राजपालाई उपसभामुख दिने प्रस्ताव गरेमा आफूहरुले सहर्ष स्वीकार्ने बताए ।

यससँगै राजपामा चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डलको नाम उपसभामुखका लागि चर्चामा छ । राजपाले उपसभामुख पद पाएमा यीमध्ये एकजनालाई अघि सार्ने बताईन्छ । राजपासँग सहकार्य गर्दै अघि बढेको नेकपाले अहिले मधेसमा आफ्नो प्रभाव विस्तारका लागि उपसभामुख पद राजपालाई दिने संभावना बढेर गएको हो ।

सभामुखको औपचारिक घोषणा आगामी १२ गते संसद सचिवालयले प्रतिनिधि सभाको बैठकमा गर्ने भएको छ । त्यसपछि संसद सचिवालयले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख पदमा फरक –फरक दल र फरक–फरक लिङ्गको हुने संवैधानिक व्यवस्था छ ।

त्यसैकारणले सभामुखमा आफ्नो दलको तर्फबाट अघि सारेपछि सत्तारुढ दल नेकपाले उपसभामुखमा अन्य दलको महिला उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्था छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत भएको नेकपाले जसलाई समर्थन गर्छ उही नै उपसभामुख बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्