विश्वमै आतंक फैलाउने कोरोनाभाइरस के हो ? यस्ता छन् लक्षण र जोगिने उपाय



काठमाडौं : चीनको बुहान प्रान्तमा देखिएको रहस्यमय कोरोनाभाइरसले अहिले विश्वलाईनै आतंकित बनाइरहेको छ । पहिलोपटक चीनमा देखापरेको यो भाइरस अहिल दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकासम्म पुगेपछि विश्व स्वास्थ्य संगठनले समेत गम्भीर चासो र चिन्ता प्रकट गरेको छ ।

विश्व स्वास्थ्य संगठनले यसबाट बच्न पूर्व सावधानी अपनाउन राष्ट्रहरुलाई आग्रह गरेको छ । कोरोनाभाइरसबाट अहिलेसम्म चीनमा नौ जनाको ज्यान गइसकेको छ भने सयौं संक्रमित बनेका छन् । पछिल्लो पटक कोरोनाभाइरसबाट एक जना संक्रमित अमेरिकामा पनि फेला परेको छ ।

कोरोनाभाइरसबाट पर्नसक्ने प्रभावलाई न्यूनिकरण गर्न पूर्व साबधानी अपनाउँदै नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गरेको छ । विदेशबाट आउने पर्यटकहरुको स्वास्थ्य परीक्षण गर्नेगरी यो डेस्कको स्थापना गरिएको छ । नेपालले खासगरी चिनीया पर्यटकहरुको लागि विशेष स्वास्थ्य परीक्षणको व्यवस्था गरेको हो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट कोहिपनि संक्रमण नभएको बताउँदै यसबाट सचेत रहनुपर्ने बताए । उनले यसकालागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।

केही दिन अघि एक जना चिनियाँ पर्यटकमाथि कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिपनि स्वास्थ्य परीक्षणपछि संक्रमण नभएको डा. पुनले बताए । डा. पुनले कोरोनाभाइरस संक्रमण भएपछि टाउको दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने र निमोनिया हुँदा ज्यानै जानसक्ने हुँदा यसमा सचेत रहन आग्रह गरेका छन् ।

उता श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ । कोरोनाभाइरस लागेका व्यक्ति केही दिन अघि चीनको बुहानबाट फर्किएका थिए ।

द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।

त्यस्तै उत्तर कोरियाले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ ।

के हो कोरोनाभाइरस?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन ।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन् ।

कोरोनाभाइरस

लक्षण के हुन्?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

  • ज्वरो आउनु र खोकी लाग्नु
  • छिटोछिटो सास फेर्नु
  • श्वासप्रश्वासमा कठिनाइ हुनु
  • गम्भीर भएमा निमोनिया हुनु
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
  • मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

  • नियमित रूपमा हात सफा गर्ने
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने
  • कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।
प्रतिक्रिया दिनुहोस्