अवैध जडीबुटी ओसारपसारमा संलग्न तीन जना पक्राउ



बझाङ : प्रहरीले अवैध जडीबुटी बोकेको एक ट्रकसहित ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साइपाल गाउँपालिका-४ बस्ने ५२ वर्षीय गोरखबहादुर लामा र सोही ठाउँका ४७ वर्षीय धन बहादुर बोहरा रहेका छन् ।

 

ना३ख ५५७८ नम्बरको ट्रकका चालक बुंगल नगरपालिका खिरातडी बस्ने ४६ वर्षीय वीरबहादुर धामी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

बिहीबार साँझ ७:४५ बजे जयपृथ्वी राजमार्गअन्तर्गत प्रहरी चौकी मटेलामा प्रहरी सहायक निरिक्षक प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको टोलीले जयपृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्लाष्टिकको कट्टामा लुकाइछिपाइ राखेको अवैध जडीबुटी गनानो, कटुकी, रङ्गसेली, डोलु, बोडेफेर र लारेजौरासमेत १५ किलो बरामद गरेको हो ।

 

बरामद गरिएको अवैध जडीबुटी, ट्रक, चालक र  ओसारपसारमा संलग्नलाई आवश्यक कारबाहीको लागि सब डिभिजन कार्यालय मालुमेला बझाङमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्