मुक्का प्रहार गर्ने सांसदलाई खोज्दै प्रहरी



पोखरा :गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले हातपात गरेको भन्दै एन्फा कास्की अध्यक्ष मिलन गुरुङले मनाङेविरुद्ध हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

प्रहरीले यहि आधारमा सांसद गुरुङलाई पक्राउ गर्न नसकिने बताउँदै रित पुर्याएर जाहेरी दिएमा कानुनी प्रकृया अगाडी बढाउने बताएको छ । उता एन्फा कस्की अध्यक्ष गुरुङमाथि पनि दुईदिन अगाडी जिल्ला प्रहरी कार्यालय कास्कीमा यस्तै उजुरी परेको प्रहरीले बताएको छ । प्रहरीले दुवैपक्षलाई बोलाएर सोधपुछ गर्ने र आवश्यकता अनुसार मेलमिलाप गराई पठाउने तयारी पनि गरेको छ । अहिलेसम्म यस विषयमा प्रहरीले थप प्रकृया अगाडी नबढेको बताएको छ । गुरुङले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरीमा कार्यालयमा निवेदन दिएका हुन । हिजो मंगलबार राति नै जीउधनको सुरक्षा माग गर्दै निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले रितपुर्वक उजुरी दर्ता गरेपछि कारबाही अघि बढ्ने बताए। ‘सामान्य निवदेन ल्याउनुभएको थियो। जाहेर दर्खास्त दिनुस् भनेर पठायौं,’ उनले भने, ‘मिडियाबजी गर्नका लागि मात्रै निवेदन दिएर भएन नि। कानुनसम्मत जानुपर्छ। रितपूर्वक जाहेर दिनुपर्छ। त्यसपछि कानुनी कारबाही हामी अघि बढाउँछौं।’

हिजो (मंगलबार)देखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए ।

मनाङबाट आएको टिमलाई खान बस्नको लागि होटेल नमिलाएको भन्दै सांसद मनाङेले गुरुङलाई मुक्का र लात्ती प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्