खोरियाका ढुंगाबाट स्लेट उद्योग, मासिक दुई लाख नाफा



 म्यााग्दी : म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरका हेमबहादुर खत्री (गोपाल) ले आफ्नो खेत, बारी र पाखोमा रहेका ढुंगाबाट स्लेट उद्योग सञ्चालन गरेर मासिक २ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

 

महत कन्स्ट्रक्सनको नाममा उद्योग दर्ता गरी स्लेट उद्योग सञ्चालन गरेका खत्रीले  ढुङ्गा मेसिनले काटेर आकर्षक स्लेट बनाई बिक्री गर्दै आएका छन् ।

 

दैनिक ५ जना कामदारले उद्योगमा गाह्रो लगाउने, छाउने ढुङ्गा, कटपिस, स्क्वायर स्टोन (छपाउने ढुङ्गा) र स्लेट निर्माण गर्ने गरेका छन् । उद्योगमा दैनिक १० जनाले रोजगारी पाएका खत्रीले बताए ।

 

२०६८ सालमा सुरु भएको सो उद्योगमा उत्पादन भएका स्लेट जिल्लाका विभिन्न क्षेत्रका साथै पोखरा र चितवनसम्म घरमन्दिरलगाएतका भौतिक निर्माणमा प्रयोग  गरिएको उनले बताए । स्लेटको माग अत्यधिक हुन थालेको उनको भनाइ छ ।

म्याग्दीको प्रसिद्ध जगन्नाथ मन्दिर, पौलस्त्याश्रम, नर्मदेश्वरी मन्दिर र जालपा मन्दिरको निर्माणमा पनि सोही उद्योगको स्लेट प्रयोग गरिएको छ । यसका साथै सदरमुकाम बेनी बजार र जिल्लाका विभिन्न क्षेत्रमा २ सयभन्दा बढी घरमा सोही उद्योगका स्लेटको प्रयोग गरिएको खत्रीले बताए ।

५ लाख रुपैयाँ लागतमा सुरु भएको उद्योगबाट खत्री ६ वर्षको अवधिमा ढेड करोड रुपैयाँ कमाइ गर्न सफल भएका छन् । ‘राम्रो कमाइ भइरहेको छ’, खत्रीले भने, ‘काठमाडौं, पोखराबाट पनि माग आउन थालेको छ तर कामदारको अभावमा मागअनुसार स्लेट पु¥याउन सकेको छैन ।’

समयको मागलाई चिनेर आफ्नै गाउँठाउँमा रहेका स्रोत साधन प्रयोग गरी युगानुकुल बनाएर मेहनत गर्ने हो भने पैसा कमाउन विदेश जानुनपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्