१८ भाईको भाग्य फैसला हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौँ : भोलि (बिहिबार) हुने राष्ट्रियसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । राष्ट्रियसभामा रिक्त १९ पदमध्ये १८ पदमा भोली प्रदेशस्तरमा निर्वाचन हुँदैछ ।

यो निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले १६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले २–२ जना उम्मेदवार उठाएका छन् । यो निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य गरी जम्मा २ हजार ५६ मतदाता रहेका छन् ।


निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा भोलीको निर्वाचनबाट १८ जना नयाँ सदस्यको चयन हुने छ । १९ सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । कार्यकाल सकिन ३५ दिन अगाडी नै नयान् सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । रिक्त एक सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनिग गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिनका लागि स्थानीय तहका जनप्रतिनिधि प्रदेश राजधानी पुग्ने क्रम जारी रहेको छ । भोलि बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्