नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान



काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको छ । वुमन ट्वान्टी–२० स्म्यास खेल्न टोली त्यसतर्फ लागेको हो ।

 

रुविना क्षेत्रीको कप्तानीमा प्रस्थान गरेको टोलीमा १४ सदस्य छन् । टोलीमा रुविना क्षेत्री (कप्तान) सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सानु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, ममताकुमारी चौधरी, डली भटट् र विन्दु रावल छन् । 

 

थाइल्यान्डको आयोजनामा शनिबार सुरु हुने खेलमा १० टोली सहभागी हुँदैछन् । आयोजकका दुई टोली, म्यानमार, इन्डोनेसिया, भुटान, चीन, मलेसिया, हङकङ, संयुक्त अरब इमिरेट्स (युएइ) र नेपालले उक्त खेलमा प्रतिस्पर्धा गर्दैछन् । 

आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाल युएई, चीन, मलेसिया र थाइल्यान्ड समूह ए मा छन् । यसैगरी समूह बी मा थाइल्यान्ड, हङकङ, इन्डोनेसिया, भुटान र मलेसिया छन् ।

 

नेपालले शनिबार प्रतियोगिताकै पहिलो खेलका रुपमा चीनसँग प्रतिस्पर्धा गर्ने छ भने आइतबार मलेसियासँग खेल्नेछ । ३० गते युएईसँग खेल्ने नेपालले समूहको अन्तिम खेल माघ २ गते थाइल्यान्ड ए सँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

 

फागुनमा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरुप थाइल्यान्डले स्म्यास आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्