राष्ट्रियसभा निर्वाचन : सदरमुकाममा बढ्यो रौनक



डोटी : यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा निकै चहलपहल बढेको छ । चहल पहलसँंगै यहाँका बजारमा समेत रौनक छाएको छ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख मतदानका लागि यहाँ आउन थालेपछि बजारमा रौनक छाएको हो । मतदान गर्न आउने जनप्रतिनिधिका कारण यहाँका बजारमा रहेका होटेल तथा अतिथिगृह भरिभराउ हुन थालेको वर्षा होटेल दिपायल पिपल्लाका गणेश बोहराले बताए । उनले भने, “जनप्रतिनिधिहरुले यहाँका होटेल, गेष्ट हाउस दुई दिनका लागि बुक गरेका छन्, बजारमा व्यवसाय पनि राम्रै फष्टाएको छ ।”

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशको मतदानस्थल जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनायारण माविमा तोकेपछि प्रदेश तथा मन्त्री, सांसद, जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख अहिले डोटी आउन थालेका छन् । यहाँका कतिपय जिल्लाबाट मङ्गलबार राति नै प्रमुख/उपप्रमुख दिपायल, राजपुर तथा सिलगढी आइसक्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदानका लागि आउने जनप्रतिनिधिको स्वागतका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गर्नाका साथै आवासका लागि खाली भएका सरकारी भवनमा व्यवस्था मिलाएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उनले भने, “निर्वाचनमा भाग लिन आउने सबै जनप्रतिनिधिहरुलाइ सजिलो र सहजताका लागि हामीले आवासको व्यवस्था मिलाएका छौँ, सबै जनालाई जिल्लामा राम्रो स्वागत गर्ने छौँ ।”

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि बिहीबार निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

निर्वाचनमा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता छन् । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ । दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग पु¥याउने उदेश्यले नेकपा र काँग्रेसका केन्द्रीयस्तरका नेतासमेत अहिले डोटी आइपुगेका छन । केन्द्रीयस्तर तथा प्रदेशस्तरका नेताहरु जिल्लामा आएपछि कुनै बेला सुनसान भएको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी चहलपहलमय देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्