प्रदेश २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग



जनकपुरधाम : सरकारी कर्मचारीले सरकारी सवारीसधानलाई निजी कामका लागि प्रयोग गर्दै कतिपय अवस्थामा तरकारी किन्नेदेखि बजार घुम्नेसम्म दुरुपयोग गरिरहेको नौलो घटना होइन् । यस्तै सरकारी सवारी साधनको व्यापक दुरुपयोग भइरहेको एउटा अड्डा हो–प्रदेश २ । प्रदेश २ मा पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएको छ ।

द नेपाल टपका सम्वाददाता दीपक कर्णको स्थलगत रिर्पोट ।

एउटा घटना हो–जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिकास्थित सपहीको ।

हिजो (मंगलबार) बिहान करिब ११ बजे सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार भएर कतै जाँदै थिए । मोटरसाइकलको नम्बर प्लेट थियो–प्रदेश २–०२००१ ब २०४ ।

यही मोटरसाइकलमा चालकदलसहित तीन जना सवार थिए । उनले पछाडीबाट मोटरसाइकलको फोटो त लिए तर, मोटरसाइकलमा सवारको पहिचान गर्न सकेनन् ।

उनले मोटरसाइलमा बसेका कसैलाई चिनेनन् । कारण थियो–चिसो मौसम । मोटरसाइकलमा सवार तीनै जनाले टाउकोमा टोपी र मुखमा मास्क थियो ।

सम्वाददाता कर्णले यही कुरा बुझन् आज (बुधबार) कार्यालय समयमा यातायात व्यवस्था कार्यालय जनकपुरमा पुगेर यसबारे अझै बुझ्न प्रयास गरे । यातायात कार्यालयका कर्मचारीले उक्त मोटरसाइकल डिभिजन वन कार्यालय सिन्धुलीको नाममा २०७६ असोज १४ गते दर्ता गरिएको पाइयो ।

उनले यस विषयमा अझ बुझ्न डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल वन अधिकृत जीवन ठाकुरलाई फोन गरे । सम्वाददाता कर्णसँगको फोन सम्पर्कमा उनले उक्त मोटरसाइकल कार्यालयका अधिकृत देवेन्द्र यादवलाई जिम्मा दिएको बताए ।

अन्ततः एक दिनको अनुसन्धानपछि उक्त मोटरसाइकल कसको हो भन्ने पत्ता लाग्यो । यद्यपी मंगलबार अधिकृत यादवसहित तीन जना सवार थियो ।

यस घटनाले बुझ्न सकिन्छ कि प्रदेश २ मा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग हुँदै आएको स्पष्ट हुन्छ । यो त एक पात्र मात्र हो । यस्तो घटनाहरु अझै कति छन् जुन बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्