प्रदेश २ मा उपेन्द्रको नीति चोर्ने, राजेन्द्रको नीति समाउने



बर्दिवास : भोलि (बिहीबार) हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर २ लाई सर्वाधिक महत्व र साचोका साथ हेरिएको छ । यस प्रदेशमा एकतिर सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी गठबन्धन भएको छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ । यस कारणले पनि यो प्रदेशमा राष्ट्रिय सभा निर्वाचनले शुरुदेखिनै चर्चा पाएको हो ।

पछिल्ला दिनहरुमा समाजवादी पार्टीले राजपाको मन चोन बनाएको रणनीति चुहिएसँगै हलचल पैदा भएको छ । अहिले दलहरु आ–आफ्नो मतदाताहरु एकजुट बनाउने कसरतमा जुटेका छन् । नेकपा–राजपा गठबन्धन आफ्नो मतलाई सुरक्षित राख्ने रणनीतिमा जुटेको छ भने कांग्रेस–समाजवादी गठबन्धन मत चोर्ने रणनीतिका साथ अगाडी बढेको छ ।

कांग्रेस–समाजवादी गठबन्धनले विशेष गरी राजपा भित्रको अन्तरविरोधमा खेल्दै मत चोर्ने रणनीति अघि बढाएपछि राजपाका नेताहरुका लागि टाउको दुखाईको विषय बनेको छ । त्यसैले गर्दा राजपाले हिजो (मंगलबार) र आज (बुधबार) यहाँ स्थित पवन मिथिला होटलमा आफ्ना मतदाताहरुलाई प्रशिक्षण कार्यक्रम राख्दै एक ठाउँमा राख्ने नीति अवलम्बन गरेको हो ।

राजपलाई आफ्नो मत सुरक्षित गर्नु मुख्य चुनौती रहेको छ । त्यसैले आफ्नो मतदाताहरुलाई सुरक्षित साथ राख्न प्रशिक्षण कार्यक्रम राखि भोलि सामुहिक ढंगले बसमा राखेर मतखदान स्थल पुर्याउने योजना बनाएको छ । तर, राजपा महासचिव मनिष सुमनले एउटा पनि मत नबिग्रियोस भनेर मतदाताहरुलाई प्रशिक्षण दिने र पार्टीका तर्फबाट पनि केही प्रशिक्षण दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

यद्यपी समाजवादी पार्टी भने राजपा भित्रको असन्तष्टिमा खेल्दै केही मत चोर्ने अभियानमा छ । केही मत चोर्न सकेमा आफ्नो उम्मेदवार विजयी हुने कुरामा समाजवादी नेताहरु आशावादी देखिन्छन् । समाजवादीका पार्टीका प्रवक्ता प्रशान्त सिंह समाजवादी पार्टीले अघि सारेको उम्मेदवार लोकप्रिय भएको बताउँदै आफ्नो उम्मेदवारले अरु पार्टीको पनि मत तान्न सक्ने संकेत गरेका छन् ।

अहिले प्रदेश नम्बर २ को यो निर्वाचन पेचिलो बनिरहेको बेला राजपाका निर्वाचन परिपालनका संयोजक राजेन्द्र महतो लगायत सबै जसो नेताहरु यहि निर्वाचनमा केन्द्रीत भएका छन् । संयोजक महतोले राजपा भित्र कुनै विवाद नभएको भन्दै सबै नेताहरु एक जुट भएर यो निर्वाचनमा लागेको बताएका छन् । उनले आफ्नमो पार्टीको मत दायाँबायाँ नहुने दाबी पनि गरे । उता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु पनि यहि केन्द्रीत भएको देखिन्छ ।

सधै जसो चहलपहल हुने प्रदेश २ को अस्थायी राजधानी जनकपुर प्रायः सुुनशान देखिएको छ भने कम चहलपहल हुने बर्दिवासमा अहिले नेताहरुको जमघट र चहलपहल बढेको छ ।

यो निर्वाचनमा प्रदेश नम्बर २ को मतदान केन्द्र बर्दिवास भएको हुनाले सबै नेताको जमघट र चहलपहल बढ्न गएको हो । यहाँको निर्वाचनमा गठबन्धन अनुसार मत परिणाम आएमा नेकपा–राजपा गठबन्धनले सहजै जित्ने निश्चित छ ।

प्रदेश नम्बर २ मा नेकपामा महिलातर्फ तुलसा दाहाल, दलित कोटामा राधेश्याम पासवान उम्मेदवार छन् भने अपाङ्ग तथा अल्पसंख्यकमा राजपाबाट शेखर सिंह र खुल्लातर्फ मृगेन्द्र प्रसाद सिंह रहेका छन् ।

त्यस्तै कांग्रेसबाट महिलातर्फ नगिना यादव र अपाङ्ग तथा अल्पसंख्यकमा भोला पजियार उम्मेदवार छन् भने समाजवादी पार्टीबाट खुल्लातर्फ अनिरुद्ध प्रसाद सिंह र दलितमा रामपृत पासवान रहेका छन् ।

भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा १८ पदका लागि सबै प्रदेशमा निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा रहेका ५९ सदस्यमध्ये गोलाप्रथाद्वारा १९ जना सदस्यको पद फागुन २० गतेबाट सकिँदै छ । यसमध्ये १८ जना पदको लागि भोलि निर्वाचन हुँदै छ भने एक जना मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

१८ पदका लागि नेकपाले १६, नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ जना उम्मेदवार उठाएका छन् भने राजपा, नेपाल किसान मजदुर पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले २–२ जना उम्मेदवार मैदानमा उतारेका छन् ।

यस निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्य गरी जम्मा दुई हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी र सुरक्षा व्यवस्था पूरा भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्