गाउँमै सिंहदरबारको झल्को : घरघरमा पुगेर सरकारी सेवा



म्याग्दी : जनप्रतिनिधिको कार्यशैली र व्यवहारका जनताले प्रश्न उठाइरहेका छन् । जनप्रतिनिधि नभेटिने, जनताका काममा भन्दा आफ्नै व्यवसायमा बढी केन्द्रित हुने, सरकारी सम्पत्ति दुरुपयोग गर्नेलगायतका आरोप जनप्रतिनिधिलाई लागिरहेको अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले भने घरैमा सरकारी सेवा सुविधा पाएपछि साँच्चिकै सिंहदरबार गाउँमै आएको महसुस गरेका छन् ।

रघुगंगा गाउँपालिकाकाले जनाताको सुविधाका लागि घरघरमा पुगेर सरकारी सेवा दिएको छ । गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविर आयोजना गरेर जनतालाई घरैमा सेवा लिने वातावरण मिलाएको हो ।

जेष्ठ नागरिक परिचयपत्र, आपाङ्गता परिचयपत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाका लागि आवश्यक पर्ने बैंकखाता खोल्ने सुविधा घरघरमा उपलब्ध गराइएको छ । आठवटा वडा रहेको गाउँपालिकामा महिनाको एकपटक प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिन्छ ।  

 

त्यसैगरी गाउँपाकिाकाबाट प्रदान गरिने सेवासुविधाको जानकारी दिन र जनताको काम गरिदिन महिनाको एकपटक गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि प्रत्येक वडामा पुग्ने गरेका छन् ।

बिहीबार वडा नं. ५ झिँमा र ६ पाखापानीमा भएको कार्यक्रममा ७ वटा योजनाको सम्झौता, ७ योजनाको बैंक खाता सञ्चालन, ९४ जनालाई जेष्ठ नागरिक परिचयपत्र, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्