
विराटनगर : मोरङको बेलबारी ३ स्थित सिजुवारीमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाप्रसाद आचार्यले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
आफ्नो ४७औं जन्मदिनका अवसरमा उनले आफैंले पढाउने विद्यालयका ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा वितरण गरेर जन्मदिन मनाएका हुन् । फजुल खर्च बचाएर विद्यार्थीलाई अध्ययनमा सहज होस् भन्ने हेतुका साथ आफूले यसरी जन्मदिन मनाएको उनले बताए । उनले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिए ।
विद्यालयका सहकर्मी र परिवारसँग समेत सल्लाह गरी आफूले जन्मदिनमा शैक्षिक सामग्री प्रदान गर्ने निर्णय गरेको उनले सुनाए । अब आफू सो विद्यालयमा रहुन्जेल यसरी नै जन्मदिन मनाउने उनले बताए । सो विद्यालयमा बढीजसो विपन्न परिवारका विद्यार्थी अध्ययनरत छन् ।