मधेश भन्दा ठूलो ज्ञानभूमि संसारमा कतै छैन : मन्त्री यादव



जनकपुरधाम : नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

आज (बुधबार) जनकपुरधाममा आयोजित अधिवेशनका प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेश भन्दा ठुलो ज्ञानभूमि संसारमा कहिंपनि नरहेको बताउँदै आयुर्वेदिक चिकित्साको सबैभन्दा ठुलो इतिहास जनकपुरधामकै भूमिपुत्री माता सिताको रहेको जिकिर गरे ।

उनले भने,‘मावन सभ्यताको सिर्जना भएदेखि नै आयुर्वेद चिकित्सा पद्धतिको शुरुवात भएको हो । तसर्थ यस पद्धति भन्दा पुरानो कुनै पद्धति छैन् ।’ मन्त्री यादवले आम नागरिकमा आयुर्वेदिक औषधीप्रति विश्वास जगाउन औषधी व्यवसायीहरु इमान्दार हुनुपर्नेमा समेत जोड दिए । उनले प्रदेश सरकारले आयुर्वेदिक सेवालाई विस्तार गर्न आवश्यक कानुन, नीति निर्माण गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले मानव विकास सँगै सुरु भएको आयुर्वेद उपचार पद्धतिको लोकप्रियता बढ्दै गएको बताए । आयुर्वेद औषधीमा संलग्न व्यवसायीले गुणस्तरीयतामा ध्यान दिनुपर्ने समेत उनले बताए । मेडिकलले नगरेका उपचार आयुर्वेद र योगाबाट निको भएको उनको दाबी थियो ।

उनले नेपालमा झण्डै चार हजारको हाराहारीमा आयुर्वेदिक औषधी व्यवसायी रहेको बताउँदै आयुर्वेद औषधि व्यवसायीलाई संगठित र एकता गराएर व्यवसायभित्र भएका विकृति तथा विसंगतिको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल आयुर्वेद औषधी व्यवसायी संघका अध्यक्ष सरोज राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख डा.सुजित शर्मा,जनकपुर अञ्चल आयुर्वेदका प्रमुख डा.सिमा झा लगायतका वक्ताहरुले समेत आ–आफ्नो मन्तव्य राखेका थिए ।

संघको नयाँ कार्यसमिति चयन
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट श्याम सुन्दर झाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा रोहित चन्द्र ठाकुर,महिला उपाध्यक्षमा विभा साह,सचिवमा रोशन मिश्र,सह–सचिवमा सुबोध यादव र कोषाध्यक्षमा राकेश झा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै,सदस्यहरुमा श्रीराम साह (धनुषा),ममता कुमारी यादव (महोत्तरी),अतिक अनवर (सिरहा),राज कुमार सर्राफ (बारा),विरेन्द्र प्रसाद चौधरी (सप्तरी),सुशिल कुमार साह (पर्सा),मो.जहागिर रौकी (रौतहट) र सागेन्द्र महतो (सर्लाही) रहेका छन् । त्यस्तै,समावेशी सदस्यहरुमा महिला तर्फ रंजिता पण्डित,जनजाती तर्फ राम विनय मण्डल र खुल्ला सदस्यमा सिता कुमारी यादवलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्