विद्यालयको जग्गा मिचेर बस्ती निर्माण



विद्यालयको जग्गा मिचेर बनाइएका संरचना ।

 

विराटनगर : मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ मा रहेको भगवती माध्यमिक विद्यालयको ८ कट्ठा जग्गा मिचेर बस्ती निर्माण गरिएको छ । 

पशु बजार लाइनमा रहेको सो जग्गा बजारले उपयोग गर्दै आएको भए पनि पछिल्लो समय त्यहाँ सिंगो बस्ती नै निर्माण भएको छ । विद्यालयमा खेल मैदानसमेत छैन तर विद्यालयकै जग्गामा सिंगो बस्ती निर्माण गरिएको छ । विद्यालयको जग्गा कति छ भन्ने विषयमा विद्यालय प्रशासन नै अनभिज्ञ छ । केही समयअघि विद्यालयलाई जग्गा दिने दाताको रेकर्ड नै विद्यालयमा नभएको पाइएको छ । 

विद्यालयका दाता को हुन् भन्ने विद्यालयले सामान्य सोधीखोजी गरे पनि कुन दाताले दिएको जग्गा कति हो र त्यो कहाँ छ भन्ने विषयमा विद्यालय प्रशासन अन्योलमै छ । विद्यालयकै नाममा रहेको ८ कट्ठा जग्गा यति बेला अतिक्रमण भई घरटहरासमेत निर्माण भइसकेका छन् । ती घर कसले बनायो र कसले अनुमति दियो भन्ने विषयमा विद्यालय प्रशासन, वडा कार्यालय र नगरपालिकासमेत अन्योलमा छन् ।

पशुबजारमा भैंसी पाल्न र सामान्य गोठ निर्माणका लागि सुरुमा सो जग्गा उपलब्ध गराएको भए पनि पछि बस्ती नै निर्माण हुँदा समेत सम्बन्धित पक्ष मौन बस्नुले कोही जिम्मेवार व्यक्तिकै हात रहेको स्थानीय तथा नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापा बताउँछन् । सो क्षेत्रमा बिद्यालयको जग्गा मिचिँदा र बस्ती नै निर्माण हुँदा समेत विद्यालय प्रशासन र व्यवस्थापन समिति मौन बस्नु अर्थपूर्ण रहेको उनको भनाइ छ । 

स्थानीय भगवती टोल विकास संस्थाका अध्यक्ष हेमसागर ढकाल विद्यालयको जग्गा खाली गर्नुपर्ने र यसरी टहरा निर्माण गरिनु गलत भएको बताउँछन् । उनले टहरा हटाएर विद्यालयको जग्गा खाली गरी विद्यालयले नै उपयोग गर्नु उत्तम हुने उनको भनाइ छ ।सो क्षेत्रमा पशुबजार लाग्ने गरेको छ । आसपासमा सिंगो वस्ती नै निर्माण समेत भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्