पोखरामा हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारमा हुने



कास्की : यही माघ ११ र १२ गते पोखरामा हुने मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारमा स्वदेश तथा विदेशबाट ६०० जनाको सहभागिता हुने भएको छ । हाप्किडो खेललाई परिचित गराउँदै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनार’ मा नेपालसहित, अमेरिका, अस्ट्रिया, मेक्सिको, रसिया, स्वीटजरल्याण्ड, स्पेन तथा दक्षिण एशियाली गरी २० राष्ट्रका ग्राण्डमास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियलको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साउथ एशियन हाप्किडो महासङ्घका अध्यक्ष रहेका नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले सम्मेलनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । सेमिनारमा नेपालका ४१ जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को ‘मिक्स’ खेल भएको तथा सेमिनारमा मुख्य गरी आत्मरक्षा र सामाजिक अनुशासनका बारेमा तालीम प्रदान गरिने बताइन्छ ।

विसंं २०७३ मा पहिलोपटक राष्ट्रिय खेलकूद परिषद्मा हाप्किडो सङ्घ दर्ता भएको बताउँदै अध्यक्ष घर्ती मगरले सोही वर्ष नै राष्ट्रिय सम्मेलन तथा विसंं २०७४÷०७५ मा जिल्ला, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको उनले जानकारी दिए ।

पोखरामा आयोजना हुने सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भूमिका खेल्ने बताइन्छ । अस्ट्रियाका ग्राण्डमास्टर गेरगार्ड अगरिञ्जले नेपालामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना हुँदा आफूखुशी भएको बताउँदै यस खेल युरोप तथा एशियाका अधिकांश मुलुकमा खेल्न शुरु गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्