नेवि संघका सात पदाधिकारीको राजीनामा



काठमाडौं : नेपाल विद्यार्थी संघका सात पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसकेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघमा राजीनामा दिने सबै पार्टी संस्थापन पक्षका हुन् । राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी छन् । 

संगठनले विद्यार्थी र संगठनकै हितमा केही काम गर्न नसकेपछि राजीनामा दिएको शाहीले बताए । नेवि संघको वर्तमान कार्यसमितिको माघ २ मा कार्यकाल सकिँदैछ । तर महाधिवेशन कहिले हुने भन्ने टुगो लागेको छैन । पटकपटक अवधि थप्दा पनि अधिवेशन हुन सकेको छैन । माघ १० गते पार्टीको बैठक हुने तय भएको छ । सोही बैठकबाट नेवि संघको भविष्य निर्धारण हुने नेताहरुले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयले फागुनमा स्ववियु निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा चुनाव तयारीमा लाग्नुपर्ने अवस्थामा संगठनकै अस्तित्वमा प्रश्न चिह्न लागेको भन्दै नेवि संघका कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्