चिनियाँ बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप



साङघाई : चीनको पूर्वी क्षेत्रमा कम्तीमा एक सय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्यसेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि जनस्वास्थ्यमा हेलचक्र्याइँ गरेको तथ्य सार्वजनिक भएको छ । 

 

जियाङ्सु काउन्टी सरकारका अनुसार यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीलाई पदबाट हटाइएको छ । 

 

एकजना अभिभावकले यसै साताको सुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । 

 

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एक सय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ । 

 

गत वर्ष चीन सरकारले रेबिज भ्याक्सिनमा समस्या देखिएपछि खोप उद्योगहरुमा व्यापक सुधार गर्ने योजना अघि सारेको थियो । चीन सरकारले दुई महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराइरहेको छ । यस्तो खोप स्वास्थ्य अधिकारीको निगरानीमा खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस्