१८ पदका लागि आज राष्ट्रिय सभा निर्वाचन हुँदै, कहाँ–कहाँ हुँदैछ मतदान ?



काठमाडौं : राष्ट्रिय सभाको रिक्त १९ पदमध्ये १८ पदको लागि आज (बिहीबार) प्रदेशस्तरमा निर्वाचन हुँदैछ । मतदान आज बिहान १० बजेदेखि ४ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज हुन लागेको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।

आज हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले १६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले २–२ जना उम्मेदवार उठाएका छन् । यो निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य गरी जम्मा २ हजार ५६ मतदाता रहेका छन् ।

प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन,वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन र गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय मतदानस्थल तोकिएको आयोगले जनाएको छ ।

त्यसैगरी, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रिय सभामा आजको निर्वाचनबाट १८ जना नयाँ सदस्यको चयन हुनेछ । १९ सदस्यको आगामी फागुन २० गते दुई वर्षे कार्यकाल पूरा हुँदैछ । कार्यकाल सकिन ३५ दिन अगाडी नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । रिक्त एक सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनिग गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्