कोरोनाभाइरसको सङ्क्रमण रोक्न वुहानमा सार्वजनिक यातायात तथा उडानहरू बन्द



चीन : श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन् ।

कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

नयाँ वर्षको बिदा

त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ । यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् ।

‘जनस्वास्थ्य आपतकाल’बारे थप छलफल

उनले भने, “जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन ।”

उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए ।

कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ ।

त्यसका सङ्क्रमितहरू चीन र उसका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेका छन् । बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्