फुट्यो विवेकशील साझा पार्टी, नयाँ दल दर्ताका लागि निवेदन



काठमाडौं : विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । 

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । 

विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको लागि कानुनी प्रक्रियामा गएको पुस्टि गरे । उनले भने, ‘जति ढिलो गर्‍यो त्यतिनै हाम्रो राजनीतिक स्वच्छतामा आँच आउने हुँदा बाध्य भएर यो कदम चालेका हौं ।’

असन्तुष्ट पक्षले नेतृत्वले विधानविपरीत काम गरेको, कोटको खल्तीबाट नाम ल्याएर केन्द्रीय सदस्य भर्ती गरेको, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभाग विघटन गर्ने, परम्परागत राजनीतिक दलकै अनुशरण गर्दै विभिन्न भातृ संगठन गठन गर्नेतर्फ अघि बढ्ने क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो । एकता घोषणा हुँदै गर्दा मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्